८ बैशाख २०८१, शनिबार

विद्यालयमै शिक्षण सिकाई कहिलेबाट सुरु हुन्छ भन्ने अन्यौल

students
फाइल फोटो

पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि विद्यालयहरुमा प्रत्यक्ष रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न रोक लगाईएको छ । सरकारले असार १ गतेबाट बिद्यार्थीहरुको भर्ना लिन बिद्यालयहरुलाई आग्रह गरे पनि विद्यालयमै शिक्षण सिकाई कहिलेबाट सुरु हुन्छ भन्ने अन्यौल छ ।

वैकल्पिक शिक्षण सिकाई अवलम्बन गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरे पनि त्यो खासै प्रभावकारी भने देखिएको छैन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने अहिले नै विद्यालय प्रत्यक्ष रुपमा खोल्न नसकिने बताएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिलेनै शिक्षा मन्त्रालयले विद्यालय खोल्न सक्ने अवस्थामा नरहेको बताउनुभयो ।

कोरोना संक्रमण दर पनि अपेक्षाकृत रुपमा नघटेको र बालबालिकाले खोप पनि लगाउन नपाईराखेको अवस्थामा विद्यालयमा भौतिक रुपमा पठनपाठन संभव नरहेको उहाँको भनाइ छ । कोरोनाको संभावित तेस्रो लहरको जोखिम भइरहेको अवस्थामा विद्यालय सञ्चालन गर्नु अनुपयुक्त हुने उहाँ बताउनुहुन्छ ।

विद्यालय सञ्चालन गर्ने या नगर्ने भन्ने कुरा कोरोना संक्रमण व्यवस्थापन तथा नियन्त्रण समिति (सिसिएमसी) को निर्णणबाट मात्र गर्न सकिनेमा उहाँको जोड छ । वर्तमान अवस्थामा विद्यार्थीलाई शिक्षण सिकाई क्रियाकलापसँग जोडिरहनको लागि मन्त्रालयले वैकल्पिक शिक्षाको प्रयोग गर्न सबै विद्यालयलाई आग्रह गरिरहेको पनि शर्माले बताउनुभयो ।

नेपाल शिक्षक महासंघले भन कोरोना संक्रमण दर बिस्तारै घट्दै गए विद्यालयहरु प्रत्यक्ष रुपमै खोल्नुपर्ने बताएको छ ।शिक्षक महासंघका महासचिव तिलक कुँवरले कोरोनाको जोखिम विस्तारै कम हँुदै गईरहे र शिक्षकहरुले खोप लगाउन पाएको खण्डमा साउनको दोस्रो÷तेस्रो साताबाट प्रत्यक्ष रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

अहिले विद्यालयले अनलाईन माध्यमबाट कक्षा सञ्चालन गरीरहे पनि त्यो सबै विद्यार्थीको पहुँचमा पुग्न नसकेको उहाँको दावी छ ।आफूहरुले देशका २० वटा पालिकाहरुमा यसको अध्ययन पनि गरेको उहाँले बताउनुभएको छ ।
निजी तथा आवाशीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) ले पनि अब शिक्षकहरुलाई कोभिड बिरुद्धको खोप दिएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भए पनि विद्यालयहरु सञ्चालन गर्नुपर्ने जनाएको छ ।

कोराना संक्रमण दर यहि अवस्थामै रहिरहे साउन दास्रो हप्ताबाट विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनका केन्द्रिय महासचिव कुमार घिमिरेले बताउनुभएको छ ।अहिले बालबालिका अनलाईन शिक्षाका नाममा बढी नकारात्मक क्रियाकलापमा लागिरहेकाले पनि उनीहरुलाई विद्यालयसँग जोड्नु आवश्यक देखिएको उहाँको भनाई छ ।

७५३ वटै स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर जोखिम हेरेर जहाँ –जहाँ सम्भव छ त्यहा–त्यहाँ भौतिक रुपमा बिद्यालय सञ्चालन गर्दै जानुपर्ने उहाँले बताउनुभयो । यसैबीच शिक्षाबिद् प्रा.डा. वद्यानाथ कोईरालाले विद्यालय प्रत्यक्ष रुपमा खोलेर सबै कुरा समाधान हुन्छ भन्ने सोच्न नहुने बताउनुभएको छ ।

अहिले कारोनाको संक्रमण दर पनि धरै मात्रामा कम नभएको र बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले तत्काल विद्यालय खोल्न हतार गर्न नहुने उहाँ बताउनुहुन्छ । यो समय प्रविधिको समय भएकाले पनि प्रविधिमैत्री वैकल्पिक शिक्षामा ध्यान दिनुपर्ने उहाँको आग्रह छ ।

जबसम्म बालबालिका ,शिक्षक र अभिभावक तयार हँुदैनन् तबसम्म विद्यालयमा प्रत्यक्ष सिकाई सम्भव नरहेको उहाँ बताउनुहुन्छ ।अहिले बालबालिकाहरुलाई परम्परागत रुपमा भैरहेको शिक्षणसिकाईलाई परिवर्तन गरी आधुनिक तरिकाले सिकाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।