१६ चैत्र २०८०, शुक्रबार

आज प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

province 2

प्रदेश २ सरकारमा आज नेकपा (माओवादी केन्द्र) पनि सहभागी हुने भएको छ । माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले सपथ लिंदै छन् ।

अर्थ मन्त्रालय वा कृषि मन्त्रालयमध्ये कुनै एउटा मन्त्री र राज्यमन्त्री दिने सहमति भएपछि माओवादी केन्द्र सरकारमा जान लागेको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले दलका नेता भरत साह मन्त्री र सांसद रुवी कर्ण राज्यमन्त्री बन्ने निर्णय भएको जानकारी दिनुभयो । आज दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्त ठाकुर पक्षका भौतिक पूर्वाधार विकास मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराउनुभएको थियो ।

सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर ठूला दुई मन्त्रालय मागेपछि सहमति नबन्दा माओवादी सरकारमा सहभागी भएको थिएन ।

यसैबीच प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिनुभएको छ । नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न दुई जनाले राजीनामा दिनुभएको हो ।

राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिनुभयो । मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्।