८ बैशाख २०८१, शनिबार

खोपका लागि आयो धुलो दूध

60f257761fb21 milak

दूग्ध विकास संस्थानले कुखुराका लागि खोपका रूपमा प्रयोग गरिने धुलो दूध (एसएमपी) बजारमा ल्याएको छ । एक केजीको प्याकमा ल्याएको सो धूलो दूध हालसम्म चार मेट्रिक टन बिक्री भइसकेको छ ।

डीडीसीले आफ्नो ५३औँ वार्षिकत्सवको उपलक्ष्यमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सो प्याकलाई अनावरण गरिएको हो । कोभिड–१९ का कारण संस्थागत बिक्रीमा कमी आएको र सङ्कलन अत्यधिक भई धुलो दूध उत्पादन बढेको थियो । त्यसलाई व्यवस्थापनका लागि सरकारले पोल्ट्री क्षेत्र खोजेको थियो ।

पोल्ट्री व्यवसायीले कुखुराको दाना तथा खोपका लागि धुलो दूध प्रयोगमा ल्याउन सुरु गरेको छ । दानाका लागि यसअघि नै खरिद सुरु गरेको सो धुलो दूध अब खोपका लागि पनि खरिद सुरु गरेको छ । त्यसका लागि डीडीसीले एक केजीको प्याकमा उपलब्ध गराएको छ ।

पोल्ट्री व्यवसायी तथा अन्य क्षेत्रमा धुलो दूधको बिक्री बढ्न थालेपछि भण्डारमा रहेको धुलो दूध खपत हुन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव कृष्णप्रसाद आचार्यले पोल्ट्री क्षेत्रले धुलो दूध खरिद गर्न थालेपछि सरकारी तथा निजी क्षेत्रका डेरी उद्योगीलाई सजिलो बनाएको बताउनुभयो । सरकार दूधका अन्य बजार पनि खोज्ने बताउँदै उहाँले डीडीसीको विश्वासलाई कायम गर्न सुझाव दिनुभयो । डेरी क्षेत्रमा पनि प्रतिस्पर्धा रहेको र सो प्रतिस्पर्धाअनुसार डीडीसी पनि चल्नुपर्ने उल्लेख गर्दै सचिव आचार्यले डीडीसी एउटा ब्रान्ड बनिसकेको भन्दै अब त्यसलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेतिर ध्यान दिनुपर्ने बताउनुभयो ।

डीडीसीले डेरी व्वाइहटनर ४०० ग्राम र ८०० ग्रामको प्याकको पनि बजारमा पठाएको छ । यसअघि २५ केजीको बोरामा मात्र बिक्री गर्दै आएको डीडीसीले आमउपभोक्ताको पहुँचमा पु¥याउन ससाना प्याक बनाएर पठाउन लागेको र यसबाट संस्थाको वार्षिक छ करोड रुपियाँको थप व्यवसाय हुने अपेक्षा डीडीसीले गरेको छ ।

होल मिल्क पाउडरको कन्जुमर प्याक उत्पादन पनि गरिने डीडीसीले जनाएको छ । त्यसका साथै सरकारी निकायहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि डीडीसीले व्यावसायिक साझेदारमा कारोबार सुरु गरेको छ ।

मक्खनको मौज्दात व्यवस्थापनका लागि घिउको स्थानीय बिक्रीमा बिक्रेता प्रवद्र्धन कार्यक्रममार्फत मासिक ४० मेट्रिक टनका दरले व्यवसाय गरिएको छ भने गत आर्थिक वर्ष २०७५/७६ मा मासिक रूपमा २५ मेट्रिक टन मात्र कारोबार थियो ।

डीडीसीले नेपाली सेनामा दूध तथा दुग्ध पदार्थहरूको आपूर्ति सुरु गरिएको र काठमाडौँ उपत्यकामा दैनिक १७०० लिटर प्रशोधित दूध र मासिक रूपमा ४६ लाख रकम बराबरको दुग्ध पदार्थको कारोबार भइरहेको जनाएको छ ।

२०७६ चैतदेखि सुरु भएको कोरोना भाइरसको महामारीका कारण डीडीसीको दूध तथा दुग्धजन्य पदार्थको कारोबारमा ३० प्रतिशत कमी आएको छ । त्यसले गर्दा ८७ करोड ३० लाख रुपियाँ बराबरको दुग्धजन्य सामग्री भण्डारमा रहेको डीडीसीले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले डीडीसीलाई नाफामुखीभन्दा पनि सेवामूलक बनाउन सुझाव दिनुभयो । डीडीसी एउटा ब्रान्ड हो भन्दै त्यसलाई कायम राख्नु सबैको कर्तव्य भएकाले यसको पहुँच हरेक उपभोक्तासम्म पु¥याउन बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।