८ बैशाख २०८१, शनिबार

तिरहुत गाउँपालिकाको दुई करोड भन्दा बढी फ्रिज

Tirhut Rural Municipality

गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतबीच विभिन्न निर्माण कार्यको भुक्तानी दिने विषयमा खटपट हुँदा सप्तरीको तिरहुत गाउँपालिकाको २ करोड भन्दा बढी रकम फ्रिज भएको छ ।

खटपट बढ्दै गएपछि कार्यालयको दैनिकी कामकाजका साथै विकास निर्माण कार्य समेत प्रभावित बन्न पुगेको छ । गाउँपालिका अध्यक्ष हेमन्त कुमार बहडखेर तथा ४२ दिन अघि मात्र सप्तरीकै महदेवा गाउँपालिका कार्यालयबाट सरुवा भइ आएकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहबीच खटपट हुँदा प्रधानमन्त्री तराई मधेश समृद्धि कार्यक्रम तथा प्रदेश सरकारको सशर्त अनुदान तर्फको गरि करिब २ करोड ५० लाख रुँपैया फ्रिज भएको हो ।

गाउँपालिकाको विभिन्न वडामा संचालित सडक ढलान, माटो ग्राभेल, विद्यालय र मन्दिर भवन निर्माण योजनाको काम वापत दिनु पर्ने भुक्तानी रकम फ्रिज हुँदा आफूहरु समस्यामा परेको भन्दै सम्बन्धीत योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुले गुनासो गरेका छन् । उनीहरुले प्रमुख प्रशासकीय अधिकृत साहमाथी कारवाहीको माग गर्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य समक्ष निवेदन पनि पेश गरेको उपभोक्ता समितिका अध्यक्ष रमानन्द चौधरीले बताए । ऋण कर्जा लिएर काम गरेको बताउँदै उनीहरुले काम गरेपनि भुक्तानी नपाउँदा मुखै देखाउन नसक्ने अवस्थामा पुगेको पीडा पोखेका छन् ।

उपभोक्ता समितिको दबाब तथा कार्यालयको कामकाज समेत प्रभावित बन्दै गएपछि शुक्रबार बहडखेरले कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख प्रशासकीय अधिकृत साहका कारण यस्तो समस्या उत्पन्न भएको आरोप लगाएका छन् । विभिन्न सम्पन्न भएका योजनाको पनि उपभोक्ता समितिलाई भुक्तानी नदिएका कारण २ करोड ५० लाख रकम फ्रिज हुन पुगेको र उपभोक्ता समिति मारमा परेको उनले सुनाए ।

प्रशासकीय अधिकृत साह विभिन्न बहाना बनाई नियमित रुपमा कार्यालयमा नआउने तथा फोन गर्दा पनि नउठाएको उनको भनाई छ । भुक्तानी रोकिएका योजनाहरुको निर्माण कार्य पनि सम्पन्न भएको दाबी गर्दै उनले प्राविधिकसहितको टोली लिएर अनुगमन गर्न संचारकर्मीहरुलाई आग्रह पनि गरे । उपभोक्ता समितिलाई भुक्तानी दिने मामिलामा प्रमुख प्रशासकीय अधिकृतको नियत ठीक देखिएको छैन उनले भने, “विभिन्न बखेडा झिकेर गाउँपालिकालाई विवादमा तान्ने काम भएकाले अविलम्ब उनको सरुवा गरिनु पर्छ ।”

गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खत्वेले पनि प्रमुख प्रशासकीय अधिकृत साहकै कारण सम्पन्न भएको योजनाको भुक्तानी रोकिदा कार्यालयमा गुनासो गर्न आउनेहरुको भिड बढेको र होहल्लाले गर्दा कार्यालयको काम समेत अस्तव्यस्त बन्न पुगेको बताइन् । उनले उपाध्यक्ष अनुगमन समितिको संयोजक रहने व्यवस्था भएपनि अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत ंसाहले आफूलाई बेवास्ता गरि एक्लै अनुमगनमा जाने गरेको सुनाइन् ।

gaar 750x375 1

यता प्रमुख प्रशासकीय अधिकृत साहले आफूमाथी लगाइएको आरोप अस्वीकार गर्दै आरोप निराधार रहेको बताएकी छिन् । प्रकृया पूरा गरि सम्पन्न भएको योजनाको मैले भुक्तानी रोकेको छैन्, उनले भनिन् “अधुरो योजनाको पनि पुरै भुक्तानी मागेपछि मैलै असहमति जनाई भुक्तानी चाही रोकेको हो ।”

गाउँपालिकामा संचालित केही योजनाको अनुगमनमा जाँदा उपभोक्ता समितिका केही पदाधिकारीले समेत आफूलाई असहयोग गरेको बताउँदै उनले भनिन्, काम पूरा नभइकन पूरै भुक्तानी दिनका लागि म माथी धम्क्याउने काम समेत भएको छ । आफू आएको केही दिन मात्र भएको र बस्तुस्थिति नबुझिकन भुक्तानी दिँदा आफू पनि फस्ने कुरा राख्दा गाउँपालिकाका प्रमुख, उपप्रमुख समेत आफ्नो विपक्षमा लागेको उनको आरोप छ ।