७ बैशाख २०८१, शुक्रबार

नेपाल पक्षका नेताहरु बाहिरिए, रचनात्मक प्रतिपक्षमा रहन्छाैँ :ओली

uml standing 4 1

नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु पनि बैठकमा सहभागी हुनुभएको छ । तर उहाँहरुले बैठकमा सहभागी हुनुभन्दा पनि अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न आफूहरु बैठक स्थलमा आएको बताउनुभएको छ ।

एमाले सत्ताबाट बाहिरिएपछि पहिलो पटक आज शुक्रबार बसेको स्थायी कमिटी बैठक स्थलमा पुग्नुभएका नेता भीमबहादुर रावलले एमाले र देशको हितका लागि एमाले एकतामा आफूहरुले जोड दिएको बताउनुभयो । एमालेजस्ता जनमत बोकेको पार्टी विभाजन र मतभेदमा पर्नु राष्ट्रिय राजनीतिमा त्यसको कुप्रभाव पर्नु हो भन्नुभयो । देशको र जनताको हितका लागि पनि एमाले एक हुन आवश्यक रहेको भन्दै आफूहरु त्यसका लागि सक्रिय रहेको बताउनुभयो ।

बैठकमा वरिष्ठ नेता नेपालको सहभागिता नरहे पनि नेताहरु रावल, गोकर्ण विष्ट, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, भीमप्रसाद आचार्य बैठकस्थल ललितपुर पुग्नुभएको थियो । बैठकमा समय लिएर बोल्नुहुँदै नेता रावलले सहमति र एकताका लागि बैठक रोक्न आग्रह गर्नुभएको थियो । तर अध्यक्ष ओलीले बैठक एजेण्डाअनुसार अगाडि बढ्ने भन्नुभएपछि नेपाल पक्षका नेताहरु बैठक कक्षबाट बाहिरिनुभएको छ ।

आजको बैठकमा कार्यदलले टुङ्गो लगाएको १० बुँदे सहमति, सर्वोच्च अदालतको फैसला तथा पार्टीको आगामी कार्यनीतिबारे छलफल हुने नेताहरुले बताउनुभएको छ । सो विषयमा अध्यक्ष ओलीले आफ्नो धारणा राख्नुभएपछि अन्य सदस्यहरुले बोल्ने क्रम जारी रहेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

यसैबीच राससका अनुसार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ ।

पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाउनुभयो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाउनुभयो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित रहनुभएको छ ।