८ बैशाख २०८१, शनिबार

ललिता निवास जग्गा प्रकरणमा ममाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण छः गच्छदार

vijay
फाइल फोटो

ललिता निवास जग्गा प्रकरण मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले आफूमाथिको अभियोग पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको बताएका छन् । बुधबार विशेष अदालतमा धरौटी बुझाएर रिहा भएपछि गच्छदारले अदालतको निर्णयलाई आफूले सम्मान गर्ने प्रतिक्रिया दिए । आफूमाथिको अभियोग पूर्वाग्रह र पूर्णरुपमा प्रतिशोषपूर्ण रहेको उनको भनाइ छ । उनले यस बिषयमा छिटै अन्य जानकारी गराउने पनि बताए ।

उनीविरुद्ध बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।

यसअघि फरार सूचीमा रहेका गच्छदार बुधबार बिहान आफैँ विशेष अदालतमा उपस्थित भएका थिए । भ्रष्टाचार अभियोगमा आयोगले गच्छादारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले पछि थप प्रमाण जुटाएर ठहरिए बमोजिम हुने गरी अहिलेलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जानकारी दिए ।