२३ बैशाख २०८१, आईतवार

संविधानको कुन धाराअन्तर्गत देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् ? राष्ट्रपति कार्यालय मौन

PM Deuba President Bhandari

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् ? राष्ट्रपति कार्यालय यसबारेमा मौन बसेको छ ।

सर्वोच्चले सोमबार दिउँसो संसद पुनर्स्थापना गर्दै १४९ सांसदको समर्थन पाएका देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख छैन ।

राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपतिले सो धारा बमोजिम दावी गरेका देउवा र केपी शर्मा ओली दुवैको दावी नपुगेको भन्दै जेठ ७ गते प्रधानमन्त्रीमा दुवैलाई नियुक्त नगरेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।

मंगलबार ५ बज्न एक घण्टा अगाडि राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको जानकारी दिएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

संविधानको कुन धाराअनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको भन्ने राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छैन । जबकि देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए, जसलाई राष्ट्रपतिले अस्वीकृत गरेपछि अदालत गएका थिए ।

देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेताहरुले ‘जनादेशबाट होइन, परमादेशबाट नियुक्त प्रधानमन्त्री’ भनेका छन् । राष्ट्रपति कार्यालयले देउवालाई सर्वोच्चको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको बताएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार अदालतको परमादेश पालना गरिएको हो । संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई दिएकोमा सर्वोच्चले परमादेश दिएपछि देउवाको नियुक्ति अदालतको आदेशका कारण भएको हो ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको असार २८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

patra 5s9CD0YdXh 66