१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतको निर्णय आएपछि पार्टी एक हुन्छ : गौतम

Bamdev Gautam 1
फाइल फोटो

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय सभालाई जनताप्रति जिम्मेवार, अझ मर्यादित र व्यवस्थित बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

सांसदहरुले कोरोना महामारीबाट नागरिक आक्रान्त बनेको, महँगी बढेको, पूर्व तयारी नहुँदा धेरै मानिसहरू बाढी र पहिरोबाट पीडित बन्नु परिरहेको अवस्थामा सबै मिलेर समस्या समाधान गर्ने गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।

बैठकमा नेकपा एमालेका नेता एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेकपा एमालेको एकताका लागि पहल भइरहेको सन्दर्भमा सर्वोच्च अदालतको निर्णय आएपछि पार्टी एक हुने पनि बताउनुभयो ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले वर्तमान सरकारले लोकतन्त्रको मूल्य मान्यता विपरीत काम गरिरहेको आरोप समेत लगाउनुभयो ।

उहाँहरूले कोरोनाले मुलुकको आर्थिक, सामाजिक, शैक्षिक र पर्यटनको क्षेत्र तहसनहस भए पनि सरकारले त्यसलाई सम्बोधन गर्ने सुधारका कार्यक्रम ल्याउन नसकेको आरोप समेत लगाउनुभयो ।

कोरोनाबाट आक्रान्त बनेका नागरिकहरूलाई समयमा नै उपचार र खोपको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गर्नुभयो ।

यसैबीच राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६/०७७’ प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक भोलि दिउसो १ बजे बस्नेछ ।