१४ बैशाख २०८१, शुक्रबार

कोपा अमेरिका च्याम्पियनको उपाधि अर्जेन्टिनालाई

Messi Argentina 2 1024x559 1

दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । साविक विजेता ब्राजिललाई उसकै घरेलु मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको हो ।

ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो । खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका थिए ।पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो ।

लियोनेल मेसीले अर्जेन्टिनाका लागि जितेको यो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। बर्सिलोनाबाट क्लब फुटबलमा तहल्का मच्चाउँदै आएका ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित भएको थियो ।