२१ बैशाख २०८१, शुक्रबार

बाढी पहिरो प्रभावितहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

oli

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरूका लागि तत्काललाई रु.५० हजार राहत स्वरूप उपलब्ध गराइने बताउनु भएको छ ।

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट प्रभावित स्थानीयहरूको अवस्था बुझ्न आज सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची पुग्नुभएका प्रधानमन्त्री ओलीले विस्थापितहरूसँग भेटघाट गर्दै बाढी प्रभावितहरूको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्थायी बसोबासका लागि थप पाँच लाख उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्रीले आजै बाढी प्रभावित हेलम्बु गाउँपालिकालाई २ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २ करोड र मेलम्ची नगरपालिकालाई रु १ करोड ६५ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

मेलम्चीमा आयोजित चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाढीबाट छेदविच्छ्द मेलम्ची र हेलम्बुको पुनर्निर्माण र पुनर्स्थापनाका लागि योजना बनाउन आफू स्थलगत निरीक्षणमा आएको बताउनुभयो । तत्कालीन र दीर्घकालीन रुपमा के र कसरी गर्न सकिन्छ भनेर आफू प्राविधिक टोलीसहित यहाँ आएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पुनर्निर्माण ठिक ढङ्गले र शीघ्रभन्दा शीघ्र अगाडि बढाउन पनि निर्देशन दिनुभयो ।

हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्र पुग्नुभएका प्रधानमन्त्री ओलीले बाढी प्रभावितहरूको अवस्था बुझ्नुका साथै स्थानीय जनप्रतिनिधिहरूसँग पुनर्निर्माण र पुनर्स्थापना कसरी गर्ने भन्ने विषयमा समेत छलफल गर्नुभयो ।

उहाँले बाढीबाट तहसनहस भएको मेलम्ची बजार र मेलम्ची खानेपानीको सुरुङको हवाई निरीक्षण पनि गर्नुभयो ।

गत असार १ गते आएको बाढीबाट क्षति भएको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको अवलोकन गर्न प्रधानमन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, पूर्व मन्त्री एवम् एमाले केन्द्रिय सदस्य शेरबहादुर तामाङ लगायत त्यहाँ पुग्नुभएको थियो ।