१४ बैशाख २०८१, शुक्रबार

एक वर्षमा चितवनमा २०६ महिला बेपत्ता, सुजिताभन्दा पहिले पनि एक युवती मृत फेला

sujita 222 1024x711 1

चितवनमा महिला हराउने क्रम बढिरहेको छ । पछिल्लो समय राप्ती नगरपालिकाकी सुजिता भण्डारीको हराएको ९ दिनपछि शव फेला पर्‍यो। सुजिता मात्रै होइन् चितवनमा एक वर्षअघि पनि एक महिला हराएको दुई दिनमा नारायणी नदीको टापुमा मृत फेला परेकी थिइन् ।

घटनाक्रम:

भरतपुर महानगरपालिका वडा नंं ११ जनजागृति टोलमा बस्ने २८ वर्षीय एक युवती घुम्न जाने भनेर घरबाट निस्केकी थिइन् । २०७७ साल साउन १४ गते बेलुकासम्म घर नफर्किएपछि युवतीको बुबाले जिल्ला प्रहरी कार्यालयमा छोरी हराएको सूचना दर्ता गरे । प्रहरीमा दर्ता भए लगत्तै युवतीको खोजीकार्य सुरु भयो । दुई वर्षदेखि मानसिक औषधि खाँदै आएकी युवतीले घरबाट निस्कने काम पहिलेदेखि नै गर्दै आएकोले पनि परिवारलाई सदाको जस्तै घर फर्किने भन्ने आश भयो । बिडम्बना युवती हराएको दुई दिनमा नै सनसरीमाई सामुदायिक वन स्थित नारायणी नदीको टापुमा पानीले बगाएर ल्याएको मृत अवस्थामा प्रहरीले फेला पार्‍यो । जिल्ला प्रहरी कार्यालयका अनुसार युवतीको शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा लगियो । पोष्टमार्टम रिपोर्ट अनुसार युवतीको पानीमा डुबेको कारण मृत्यु भएको पाइयो । बाबुलाई पनि छोरीले आफ्नै कारण मृत्यु भएको र पानीमा डुबेकोले मृत्युमा कुनै आशंका नभएको बताउँछन् । उनले भने, ‘पहिले पनि छोरीले यस्तै यस्तै हर्कत गर्ने भएकोले डुबेर नै मृत्यु भएको विश्वास छ । त्यही अनुसार छोरीको दाहसंस्कार गरियो । यो सबै कामहरु सकियो । यसलाई अघि नबढाइदिनुहोस् ।’

उनले निषेधाज्ञाको कारणले छोरीको पोष्टमार्टम रिपोर्ट लिन नगएको बताएका छन् । प्रहरीले भने युवतीको घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन् । अनुसन्धानको क्रममा कतै पनि युवतीको हत्या भएको नदेखिएको प्रहरीले बताउछ । प्रहरीले यस्ता घटनाको अनुसन्धान गर्ने अवधि दुई वर्ष मात्रै हुन्छ । परिवारको पनि युवतीको हत्या नभएको आफै नदीमा डुबेको कारण मृत्यु भएको भनेपछि यो घटना यत्तिकै साम्य भएको देखिन्छ । उक्त घटनाबाट युवतीले मानसिक औषधि खादँै आएकोले पनि उनको नदीमा डुबेकोले मृत्यु भएको देखिन्छ । साथै रिपोर्टमा पनि त्यही आएपछि युवतीको परिवारले शव बुझेका थिए ।

चितवनमा चार वर्षको अवधिमा युवती जस्तै सुजिता पनि हराएपछि मृत अवस्थामा फेला परेकी हुन् । सुजिताको हत्या भएको हो होइन भन्ने बारे अनुसन्धान भइरहेको छ । चितवनमा हराउने संख्यामा पुरुषको तुलनामा महिलाको बढी देखिन्छ । असार महिनामा मात्रै चितवनको विभिन्न ठाँउबाट १२ जना महिला हराए । जसमा सात जना फेला पारियो भने पाँच जना अझै फेला पार्न बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका महिला तथा बालबालिका सेलकी प्रमुख कमला नरालका अनुसार विगत चारवर्षदेखि हालसम्म चितवनमा एक हजार ७६ जना महिला र ३९६ जना बालिका हराएका छन् । जसमा एक हजार ३४ जना महिला र ३८९ बालिका फेला परेका छन् भने ४२ जना महिला र सात जना बालिका फेला पार्न बाँकी रहेको तथ्याकंले देखाउँछ । गत साउनदेखि आज सम्ममात्रै चितवनमा २०६ जना महिला बेपत्ता भएका छन् । जसमा ३१ जना महिलालाई महिलालाई प्रहरीले फेला पार्न सकिरहेका छैन ।

हराउनेमा विवाहित बढी

प्रमुख नरालका अनुसार हराउने क्रममा बढी मात्रामा विवाहित महिला हराइरहेका छन् । विवाहित महिलाहरु भन्दा पनि अविवाहित युवती, बालिका हराएको सूचना कार्यालयमा छिटो आउने उनले बताइन् । ‘सामाजिकरुपमा पनि मानिसको सोचविचार परिकल्पना बढी गर्नाले विवाहित महिला परपुरुषसँग भागेको हुनसक्ने अनुमान लगाएर उनीहरु महिला हराएको धेरै दिनपछि प्रहरीमा सूचना दर्ता गर्न आउने गरेका छन्’ उनले भनिन्, ‘केही दिनअघि मात्रै पनि श्रीमती हराएको ६ महिनापछि प्रहरीमा सूचना दर्ता गर्न आएका थिए । हामीले किन ढिलो आएको सोध्दा उनले माइत गएको भनेर ढुक्क भएको त अहिले फोन गर्दा माइत नगएको थाहा पाएपछि खोजी गर्न आएको भने ।’

अनुसन्धानको क्रममा महिला घरबाट हराउनुको कारण घरेलु हिंसा रहेको उनले बताइन् । श्रीमान् मादक पदार्थ सेवन गरी कुटपिट गर्दा, परिवारकै सदस्यबाट अस्लिल खालका अपराध हुँदा, बालबालिकाको मनोभावना नबुझ्दा धेरै महिला, बालिका घरबाट भागेर हिड्ने उनले जानकारी दिइन् । उनीहरु हराउने क्रममा कुनै अपरिचित व्यक्तिबाट सहयोगको नाममा उनीलाई गलत क्रियाकलापमा सामेल गरिदिने जसले गर्दा उनीहरुको ज्यानसमेत जानसक्ने नरालले नारायणी अनलाइनलाई बताइन् । नराल गोर्खाबाट सरुवा भएर चितवन आएको धेरै महिना भएको छैन । चितवनमा पछिल्लो समय अपराधका घटना बढिरहेको देख्दा उनलाई पनि चितवनमा महिला असुरक्षित रहेको बताउँछिन् । महिला, बालिका हराउनुमा परिवारको पनि ठूलो भूमिका रहने उनले बताएकी छन् । परिवारका सदस्यले पनि आफ्ना घरमा भएका महिला, बालबालिकाको रेखदेखमा ध्यान दिएर उनीहरुको मनोभावनालाई बुझेर उनीहरुको समस्या उजागर गर्नुपर्छ नरालले भनिन् ।