१५ चैत्र २०८०, बिहीबार

एक वर्षमा ३३ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

Nepal Oil NOC

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाल आयल निगमले पछिल्लो पटक मंगलबार पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । स्वचालित प्रणालीमा आधारित भइ हरेक १५ दिनमा मूल्य समायोजन गर्ने नीति अनुरुप निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले मूल्य बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ पुर्याएको छ । तर यति हुँदाहुँदै पनि निगम भने अझै घाटामै छ ।

कर उठाउने मात्रै ध्याउन्नमा लागेको सरकारले केही कर घटाउने हो वा छुट दिने हो भने मात्रै पनि पेट्रोलियम पदार्थको मूल्य केही कम हुन जान्छ । तर, यसतर्फ हालसम्म कुनै पनि सरकारले सोचेको समेत छैन, कार्यान्वयन त झनै परको कुरा भयो ।

अहिले ६६.५७ रुपैयाँमा खरिद गरेको एक लिटर पेट्रोलमा ५६.६१ मात्रै उपभोक्ताले कर तिर्नुपर्छ । त्यसमा प्रतिलिटर भन्सार शुल्क २५.२ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०२५ रुपैयाँ, सडक मर्मत् शुल्क ४ रुपैयाँ, प्रदुषण शुल्क १.५ रुपैयाँ, पिएसएफ १.१ रुपैयाँ र पूर्वाधार कर मात्रै १० रुपैयाँ तिर्नुपर्छ ।

यो सबै करको भार उपभोक्ताको टाउको मै पर्छ । यस्तै, भ्याट समेत उपभोक्ताले नै तिर्नुपर्छ । करै करका कारण उपभोक्ताले सधै महंगोमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरेको छ ।