१६ चैत्र २०८०, शुक्रबार

प्राविधिक त्रुटि छैन : आयोजना, भौगोलिक अध्ययन भएन : स्थानीय

sadak

केही दिन अघि सिन्धुलीको दुधौली नगरपालिका अन्तर्गत पर्ने लखिमा–अरुणठाकुर–दमार सडकको तस्बिर भाइरल बन्यो

निर्माण सम्पन्न भएको दुई साता पनि नबित्दै क्षतविक्षत भएर बिग्रिएपछि यस विषयमा राष्ट्रिय स्तरमा नै चर्चा भयो । हाल सो सडकको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधिले समेत स्थलगत अध्ययन गरी सडक निर्माणमा प्रयोग भएको कच्चा पदार्थको नमुना समेत सङ्कलन गरेका छन् उक्त कालोपत्रे सडक अविरल वर्षपछि आएको बाढी र साना–साना पहिरोले क्षतविक्षत बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

‘गाँउमा कालोपत्रेसहितको सडक बन्दा औधि खुसी लागेको थिएन’, दुधौली नगरपालिका १३ बाम्दागाँउ निवासी रामकुमार तामाङले भन्नुभयो, ‘असार १७ गते राती १२ बजेतिर दुई घण्टा परेको पानीले हेर्नै नसकिने गरी सडकलाई यो अवस्था बनायो ।’ उहाँले सडकका खोल्सामा राखिएको ह्युमपाइप बाढीले थुनिएपछि बाढी सडकबाट कुदेर बिग्रिएको सुनाउनुभयो ।

उहाँका अनुसार १३ किलोमिटर लम्बाइ रहेको उक्त सडक मध्ये बाँदरे खोला क्षेत्रमा उकालो सडकमा गरिएको कालोपत्रे सडक हेर्नै नसकिने गरी पत्रपत्र उप्किएर क्षतविक्षत भएको हो । सडक निर्माण गर्दा एकातर्फ मात्रै पानी बग्ने नाला हुनु र झोरामा आउने बाढीको निकासका लागि एउटा मात्र ह्युमपाइप हुँदा सडकमा बाढी पसेर क्षति भएको स्थानीयको भनाइ छ ।

दुधौली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष मिलन सुनुवार पनि १० वर्ष अघिको डीपीआरबाट इस्टमेट गरि ठेक्का लगाएको र भौगोलिक वातावरणको अध्ययन नै नगरी पहाडमा कालोपत्रे सहितको सडक निर्माण गर्दा उक्त क्षति बेहोर्नुपरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘तराईको समथर फाँटमा बनाइने सडकको प्राविधिक स्टमेटले यहाको मौसम र वातावरणसँग कसरी मेल खान्छ ?’

सडक बारे अनुसन्धान गर्न पुग्नुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह–न्यायाधिवक्ता रामकुमार थापा सहितको टोलीले पनि सडक निर्माणको गुणस्तर र क्षतिको विवरण सङ्कलन गरेको छ ।

सह–न्यायाधिवक्ता रामकुमार थापाले भन्नुभयो, ‘गुणस्तरहीन भएर बिग्रिने भए अरु ठाउँमा पनि बिग्रिनुपर्ने ! अन्यत्र त्यति राम्रो छ । सामाजिक सञ्जालमा फिँजाइएको जस्तो अफवाह देखिँदैन ।’
निर्माण कार्यमा खटिनुभएका प्राविधिक(ईन्जिनियर) राजेन्द्र भण्डारी पनि उक्त सडक प्राविधिक कम्जोरीका कारण नभई प्राकृतिक हिसाबले भत्किएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘प्राविधिक स्टिमेट अनुसार नै काम भएको छ । जहाँबाट बाढी पसेर सडक भत्कियो, त्यहाँ ९० सेमीको ह्युम पाइप हाल्नुपर्ने प्राविधिक स्टिमेटमा छ । त्यही अनुसार नै ह्युम पाइप हालेका छौं ।’

उहाँका अनुसार सडकको चौडाइ छ मिटर २५ सेन्टिमिटरमध्ये चार मिटर ५० सेन्टिमिटरमा कालोपत्रे गर्नुपर्ने प्राविधिक स्टिमेटमा उल्लेख छ । सोही बमोजिम १५ सेमीको सब बेस र फेरी १५ सेमीको बेस हालेर रोलिङ गरी त्यसमाथि प्राविधिक स्टिमेट बमोजिम तीन सेमी मोटाइको कालोपत्रेको काम भएको छ ।

उहाँले अहिले पनि उक्त सडक आयोजनाको सम्झौता अवधि छ महिना (२०२१ डिसेम्बर २१सम्म) बाँकी रहेकाले मौसममा सुधार आउनासाथ बिग्रिएको सडक पुनः निर्माण गरी सम्पन्न गरिने सुनाउनुभयो । इन्जिनियर भण्डारीले भन्नुभयो, ‘सडकको कुल लम्बाइमध्ये ११ किलोमिटर पिच भएको छ । त्योमध्ये पनि करिब चार किलोमिटर मात्रै भत्किएर क्षति भएको छ । अझै धेरै सडक भत्किएको छैन । नभत्किएको सडक खनेर हेर्ने बित्तिकै प्राविधिक स्टमेट अनुसार काम भए÷नभएको छर्लङ्ग हुन्छ ।’

उक्त सडक स्थानीय पूर्वाधार विकास तथा कृषि सडक (डोलीडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत भ्याटबाहेक २६ करोड ३१ लाख रुपियाँमा ठेक्का लागेर यही असारको पहिलो सातामा सम्पन्न भएको हो । २०७८ पुषसम्म निर्माण सम्पन्न गर्ने गरी इसीआइ–कन्काइ जेभीले सम्झौताको म्यादभन्दा छ महिना अघि नै काम सम्पन्न गरेको जनाएको छ ।

सडक निर्माण कम्पनीका प्रबन्धक डीबी लामाले प्राकृतिक विपत्तिले सडकमा क्षति पु¥याएको र प्राविधि स्टमेटभन्दा बाहिर गएर काम गरेको ठहर भएमा कारबाही भोग्न तयार रहेको बताउनुभयो ।