१३ बैशाख २०८१, बिहीबार

एक सय २९ वर्ष जेल सजाय तोकिएका ‘चोर’ सिन्धुलीबाट पक्राउ

129 year arrest sindhuli 63

चोरी तथा डकैती मुद्दामा अदालतले एक सय २९ वर्ष जेल सजाय तथा १४ लाख जरिवाना तोकेका फरार व्यक्तिलाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ ।

अदालतले कैद तथा जरिवाना तोकेका तर फरार रहेका प्रतिवादीहरुको खोजी गर्ने क्रममा सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्द थपलियाकै विशेष निर्देशन र पहलमा ती व्यक्ति पक्राउ परेका हुन् ।

अदालतबाट प्राप्त फरार सूची अध्ययन गर्ने क्रममा १ सय २९ वर्ष ७ महिना कैद सजाय तोकेका व्यक्ति रहेको पत्ता लागेपछि एसपी थपलियाले प्रतिवादीको खोजी कडाईका साथ गरेका थिए ।

खोजी गर्ने क्रममा तिनपाटन गाउँपालिका १ (साविक बेलघारी गाविस ३) का मगर कान्छा भन्ने मेषबहादुर थापालाई सोमबार साँझ ५ बजे बेलघारीबाट पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

मेषबहादुरलाई छ वटा चोरी मुद्दा र १२ वटा डाँका चोरी मुद्दामा तनहुँ जिल्ला अदालतले २०७१ वैशाख १७ गते र २०७२ जेठ ४ गतेको फैसलाले सो कैद सजाय र जरिवाना तोकेको थियो ।

उनी चोरी तथा डाका मुद्दामा फरार थिए । प्रहरीले खोजविन गर्ने क्रममा उनलाई सोमबार साँझ पक्राउ गरिएको एसपी गोविन्द थपलियाले जानकारी दिए ।

पक्राउ परेका मेषबहादुरलाई आवश्यक कारवाहीका लागि सिन्धुली जिल्ला अदालतमा पेश गरिएको छ ।