१४ बैशाख २०८१, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुस्त, चरम आर्थिक संकटमा धुर्मुस–सुन्तली फाउण्डेसन

rangasala 2

चितवनको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसन चरम आर्थिक संकटमा पर्दे गएको छ ।
दाताकै भरमा निर्माण थालिएको रंगशालामा पछिल्लो समय सहयोग आउने क्रम कम भएपछि आर्थिक संकट चुलिएको हो । कोरोनालगायतका कारणले दाताहरु रंगशालाका लागि सहयोग गर्न आउन सकेका छैनन् भने सरकारले पनि खासै चासो देखाएको छैन । रंगशाला निर्माण भइरहेको भरतपुर महानगरपालिकाले पनि रंगशालाका लागि न्यून बजेट बिनियोजन गरेको छ ।

रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउनका लागि लगाइएको धानधान्याचल महायज्ञबाट उठ्नुपर्ने रकम पर्याप्त उठ्न सकेको छैन । कोरोना महामारीका कारणले सहयोग जुटाउने अन्य सामाजिक अभियानहरु पनि यतिबेला ठप्प भएका छन् ।

रंगशाला निर्माणमा निरन्तर खटिएका धुर्मुस–सुन्तली फाउण्डेसनमा अध्यक्ष सीताराम कट्टेल‘धुर्मुस’ ले आर्थिक संकट पर्दै गएकोले रंगशाला निर्माणको काम सुस्त गतिमा भइरहेको जानकारी दिए । उनले भने, ‘ पहिले झण्डै ३०० दैनिक मजदूरले रातदिन नभनी निर्माणको काम गर्ने रंगशालामा अहिले जम्मा ४० जना जति मजदूरले काम गरिरहेका छन् । काम निकै सुस्त गतिमा भइरहेको छ ।’ उनले अहिले आर्थिक समस्या रहे पनि कोरोना महामारीको कारणले विभिन्न संघसंस्था र व्यक्तिसँग माग्न सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘ अहिलेको परिस्थितिले नै दोषी बनायो ।’

आर्थिक संकटकै कारणले निर्माणमा खटिने जनशक्ति होल्डमा बस्नुपरेको छ । अहिले रंगशालामा दुबो रोप्ने काम सकिएको छ भने निरन्तरको वर्षात्ले गर्दा पिच निर्माणको काम हुन सकेको छैन । प्याराफिटमा फिनिसिङको काम भइरहेको छ । अब पिच बनिसकेपछि हिउँदको समयमा रंगशालामा खेल खेल्न सकिने धुर्मुसले बताए । रंगशाला धनधान्याचल महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले आफूहरुले सबै हिसाब किताब रंगशालालाई बुझाएको भए पनि अझै धेरै रकम उठ्न बाँकी रहेको बताए । उनले भने, ‘ महामारीले गर्दा पनि सबै रकम उठ्न सकेको छैन ।’

फाउण्डेसनका अध्यक्ष धुर्मुसले अहिलेका सरकारको पूर्वमन्त्री इश्वर पोखरेललाई भेटेर आर्थिक सहयोगको माग गरेका थिए तर संघीय सरकारबाट रंगशाला निर्माणको लागि कुनै पनि सहयोग प्राप्त भएको छैन । धुर्मुस–सुन्तली फाउण्डेसनअन्तर्गत रहेर रंगशाला निर्माणको आर्थिक हिसाब किताब हेर्दै आएका लेखा अधिकृत मुक्ति तिमिल्सिनाले रंगशाला निर्माणको काम गत वर्षबाट नै आर्थिक समस्यामा पर्दै आएको बताए । उनले भने, ‘यही अवस्था रहिरहे तोकिएको समयमा रंगशाला निर्माणको काम सकिँदैन । प्रदेश सरकार, भरतपुर महानगरपालिका र स्थानीय पालिकादेखि बाहेक संघीय सरकारबाट कुनै पनि सहयोग प्राप्त भएको छैन ।’ उनले उपलब्ध गराएको तथ्यांक अनुसार रंगशालामा लगाइएको महायज्ञबाट बोलकबल भएको रकम ६९ करोड ४५ लाख ५६ हजार रुपैयाँ रहेकोमा अहिलेसम्म जम्मा ९ करोड २५ लाख ५९ हजार मात्र प्राप्त भएको छ । महायज्ञ बाहेकको शीर्षकमा भरतपुर महानगरपालिकाले आठ करोड र वाग्मती प्रदेश सरकारले तीन करोड रुपैयाँ उपलब्ध गराएका छन् । लेखा अधिकृत तिमिल्सिनाका अनुसार रंगशाला निर्माणको जम्मा लागत तीन अर्ब ५५ करोड रुपैयाँ रहेकोमा अहिलेसम्म विभिन्न स्रोतबाट रंगशाला निर्माणलाई भनेर जम्मा ३७ करोड ७१ लख ९८ हजार रुपैयाँ मात्र जुटेको छ । रंगशाला निर्माणको लागि तोकिएको ५० प्रतिशत समय पूरा भइसक्दा अहिलेसम्म जुटेको सहयोग निकै कम देखिन्छ ।

यदि रंगशाला निर्माण कार्यमा पर्याप्त सहयोग प्राप्त नभएमा तोकिएको समयमा रंगशाला निर्माणको काम हुन नसक्ने रंगशाला निर्माण अभियानमा जुटेका सामाजिक अभियन्ता अर्जुन भुसालले बताए ।

नेपाललाई खेलकुद हबको रूपमा विकास गर्ने योजनाका साथ रंगशाला निर्माण कार्यमा जुटेको फाउन्डेसनले रंगशालाको डीपीआर अनुसार कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको बनाएको छ । रंगशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने छ । बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रंगशाला निर्माण गरिँदै छ । डीपीआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने छन् ।

भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी डीपीआर तयार गरिएको हो । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रंगशाला तयार गर्ने बताएका थिए । तर, पर्याप्तरुपमा आर्थिक सहयोग प्राप्त नभए सो समयमा सक्न कठिन हुने देखिन्छ । रंगशाला तयार गर्न सुरुमा दुई अर्ब ६० करोड रुपैयाँ हाराहारी खर्च हुने जनाइए पनि पछि यसको डीपीआरमा आएको परिवर्तनसँगै यसको लागत अनुमानित तीन अर्ब ५५ करोड पुगेको छ ।