७ बैशाख २०८१, शुक्रबार

आधा घण्टाका लागि ब्वाइफ्रेण्डसँग घरबाट निस्केकी बिना चितवनबाट आठ दिनदेखि बेपत्ता

girl

गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोककी २१ वर्षीय बिना सापकोटा विगत ८ दिनदेखि बेपत्ता भएकी छन् ।

असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा अहिलेसम्म घर नफर्किएको उनका बुबा जयश्वर सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । जयश्वरका अनुसार सो दिन प्रवेश कँडेलले बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । सापकोटाले भने, ‘ असार १४ गते आधा घण्टामा आउँछु भनेर उनको ब्वाइफ्रेण्डसँग गएकी हुन् । अहिलेसम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन । गौरीगञ्जमा लगेर छोरीलाई कुटेको भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको हो ।’ उनले भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको जानकारी दिए । उनले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए । सूचना सार्वजनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् । दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिए । प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको छ। उनको घटनाबारे अनुसन्धान गरिरहेकी जिल्ला प्रहरी कार्यालय चितवनकी निरीक्षक कमला नरालले केटीको मोबाइल खोजेर केटासँग भएको कुराकानीबारे अध्ययन गर्ने काम भइरहेको नारायणी अनलाइनलाई बताइन् ।

२१ वर्षीया बिना गैंडाकोटमै रहेको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययन गर्दै थिइन् । बिनाले फेसबुकमा देखिने ‘रिलेशनसिप स्टाटस’ मा ‘रिलेशन विथ प्रवेश कँडेल’ उल्लेख गरेकी छन् । प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन् । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका छन् । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका छन् । साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर जयश्वरलाई आएको थियो । उनले भने,‘ खबर सुन्नासाथ मोबाइल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन् । ‘तिमीहरू कता छौ म आउँछु भन्दा प्रवेश र विना दुबैले उनीहरू भएको ठाउँ बताएनन्,’ जयश्वरले भने, ‘प्रवेशलाई सवारीसाधन नभए मेरी छोरीलाई अटोरिक्सामा भए पनि घर ल्याइदिइहाल भनेँ ।’

युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका छन् । जयश्वर र प्रवेशले राती २ बजेसम्म भरतपुरका विभिन्न ठाउँमा बिनालाई खोजेका थिए । नभेटेपछि प्रवेशलाई पनि लिएर गैंडाकोटस्थित घर पुगे । घटनाको विषयमा प्रहरीलाई मौखिक जानकारी गराएका थिए ।