१४ बैशाख २०८१, शुक्रबार

चितवनबाट हराएकी बिना सापकोटा नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभीमा देखियो

girl

गत असार १४ गते भरतपुरबाट हराएकी बिना सापकोटा अझै फेला परेको छैन । आज मात्रै बिना नारायणी नदी किनारतर्फ जाँदै गरेको सिसिटिभी भिडिओ भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिना नारायणगढको लीलाचोकबाट नारायणी नदी किनारतर्फ गएको स्थानियले बताएका छन् ।

उक्त दिन नवलपुरको गैंडाकोटस्थित घरबाट प्रेमी प्रवेश कँडेलसँग भरतपुरतर्फ निस्किएकी बिना सोही दिनदेखि हराइरहेकी थिइन् । बाबु जयश्वर सापकोटाले दिएको जाहेरीका आधारमा प्रेमी प्रवेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । चितवन प्रहरीले नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा विना कैद भएको भेटेको हो।

राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको फुटेज भेटिएको प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार विनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर आफ्नो प्रेमी प्रवेशसँग कुराकानी गरेकी थिइन् । विनाले अपरिचित व्यक्तिको मोबाइलबाट ११ सेकेन्ड प्रवेशसँग बोलेको भेटिएको छ।

विनाको मोबाइल सेट भने प्रहरीले प्रवेशको साथमा फुटेको अवस्थामा भेटेको छ। केहीबेर बोलेपछि फोन दिएर ती युवती नदीकिनारतर्फ गएको ती व्यक्तिले विनाका बुबा जयश्वरलाई जानकारी गराएको थापाले बताएका छन् ।

सोही दिन राति ८ बजे भरतपुरस्थित भाटभटेनीअगाडि हिँडिरहेको स्थानीयले देखेका थिए। त्यसपछि प्रहरीले नारायणगढ बजार क्षेत्रमा रहेका क्यामरामा उनको खोजी गरिरहेको थियो। बिना नदीकिनारतर्फ गएकी भेटिएपछि प्रहरी र आफन्तले त्यस आसपासमा विनाको खोजी गरिरहेका छन्।

प्रहरीले नियन्त्रणमा रहेका भनिएका प्रवेश भने हाल भरतपुर अस्पतालबाट चितवन मेडिकल कलेजमा रेफर गरेको छ ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवेशले दिएको बयानमा भरतपुरस्थित ती अर्की यूवतीको घर नजिकै एक चौरमा बसेर तीन जनाबीच कुरा भएको थियो । सुरूमा ती युवतीले प्रवेशसँग आफ्नो सामान्य कुराकानीमात्रै हुने गरेको बताएकी थिइन् ।

चितवन प्रहरीका अनुसार बिनाको प्रेमीले आफ्ना दुई प्रेमिका बिना र कुसुमको भेट गराएपछि दुई जनाको बीचमा बाझाबाझ भएको र बिना बेहोस भएको बयान दिएका छन् । बेहोस भएकी बिनालाई कुसुमको घर लगेको बताएका छन् । साढे साँझ ६ बजेतिर छोरी बेहोस भएको खबर जयश्वरलाई आएको थियो । उनले भने,‘ खबर सुन्नासाथ मोबाइल छोरीलाई दिन भने तर बिना राम्रोसँग बोल्न सकिनन् । ‘तिमीहरू कता छौ म आउँछु भन्दा प्रवेश र विना दुबैले उनीहरू भएको ठाउँ बताएनन्,’ जयश्वरले भने, ‘प्रवेशलाई सवारीसाधन नभए मेरी छोरीलाई अटोरिक्सामा भए पनि घर ल्याइदिइहाल भनेँ ।’