१५ चैत्र २०८०, बिहीबार

नाताप्रमाणित गर्दा ५ लाख घुस लिएको आरोप, वडाध्यक्षद्वारा खण्डन

bijaya bhujel

भरतपुर महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष विजयकुमार भुजेलले नाता प्रमाणित गर्दा ५ लाख घुस खाएको आरोप लागेको छ ।

स्थानीय आस्था चौधरीको परिवारको नाताप्रमाणित गर्दा उनले ५ लाख घुस खाएको आरोप लागेको हो । चौधरीले आफ्नो श्रीमान् सुजनराम गुरौको मृत्युपश्चात पाउने चलअचल सम्पतीका लागि जेठी श्रीमतीका छोरा लिलाराज गुरौ र आफ्नो नाता प्रमाणित गर्दा वडाध्यक्षलाई ५ लाख दिएको बताएकी छिन् । सम्पतीको सट्टा आफू २० लाख लिन राजी भएको र त्यो मिलाइदिए बापत वडाध्यक्षले पैसा मागेको उनले आरोप लगाइन् ।

२०७६ भदौमा सुजनराम गुरौको निधन भएको थियो । उनले भनिन्, ‘दुई वर्ष सँगै बस्यौं । विवाह दर्ता गरेका थिएनौं । हाम्रो सन्तान भएन । उहाँको मृत्युपश्चात माइत पूर्वि चितवनमा बस्न थालें ।’ ‘जेठी श्रमतीको मृत्यु पश्चात म संग विवाह भएको हो । त्यसपछि मैले सम्पती बापतको २० लाख दिए अन्य सम्पती दाबी गर्दिन भने । त्यसपछि वडाध्यक्षले छोरा लिलाराज गुरौसँग नाताप्रमाणित गरिदिनुभयो र पैसाको लेनदेन भयो ।’

आफूले वडाध्यक्षलाई पैसा दिन नचाहेको भए पनि वडाध्यक्षको दबाबले पैसा दिनुपरेको उनले बताइन् । २० लाखबाट ५ लाख कटाएर आफ्नो हातमा १५ लाखमात्र दिएको उनको भनाइ छ । उनले तीन वर्षसम्म आफूले पाउनुपर्ने एकल भत्ताबापतको रकम समेत नपाएको गुनासो गरेकी छन् । उनले यो कुरा सञ्चारकर्मीसँग बताएकी थिइन् । जुन भिडियो नारायणी अनलाइसँग सुरक्षित छ ।

चौधरीले घुस खाएको आरोप लगाएपछि आज वडाध्यक्ष विजयकुमार भुजेलले भरतपुरमा पत्रकार सम्मेलन गरी आफूले एक रुपैयाँ पनि नखाएको दाबी गरेका छन् । उनले आरोप लगाएकी महिला आस्था चौधरी र जेठी श्रीमतीका छोरा लिलाराज गुरौलाई सँगै राखेर आफूले मध्यस्थतामात्र गरिदिएको तर एक रुपैयाँ नलिएको बताएका छन् ।

यसअघि वडाध्यक्षले ५ लाख घुस खाएको आरोप लगाएकी चौधरीले आज पत्रकार सम्मेलनमा भने एकल भत्ता नदिलाइदिएका कारण आरोप लगाएको बताएकी छन् । वडाध्यक्ष भुजलले चौधरीले वार्षिक रुपमा गर्नुपर्ने नविकरण नगरेका कारण एकल भत्ता नपाएको बताए । सो क्रममा भुजेलले आफूलाई कमजोर पार्न विभिन्न आरोप लगाइएको जिकिर गरे ।