१६ चैत्र २०८०, शुक्रबार

अन्तरघातको मारमा परे सुवेदी, झन्डै दुई हजार मतले अगाडि रेनु

Bharatpur Mayour

भरतपुर महानगरपालिकामा जारी मत गणनामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालले झण्डै दुई हजार मतले अग्रता लिएकी छन् ।

महानगरको वडा नम्बर ६ को मतगणना सकिँएसँगै उनले एमालेका सुवेदीसँग मतको अग्रता बढाउँदै लगेकी हुन् ।

कांग्रेसको गढ मानिएको गीतानगर क्षेत्रमा पर्ने वडा नम्बर ६ गणना गर्नुअघि दाहाल ३७३ मतले मात्र अगाडि थिइन् तर ६ नम्बर वडाको गणना सकिँदो उनको मतान्तर एक हजार ८८३ पुगेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ को गणना चलिरहँदा माओवादी केन्द्रकी रेनु दाहालले १० हजार ६३७ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले आठ हजार ७५४ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्रका जगन्नाथ पौडेलले चार हजार ७९० मत ल्याएका छन् । वडा नम्बर ६ मा दाहालले सुवेदीले भन्दा १३३९ भोट बढी ल्याइन् । एमालेले वडा नम्बर १०, ११ र १२ लाई आफ्नो सबैभन्दा बढी प्रभाव रहेको वडाहरु मान्ने गरेको छ । तर, पार्टी भित्रको अन्र्तघात चलिरहेमा सुवेदीले रेनुलाई जित्न अब कठिन हुने देखिएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले वडा नम्बर ४ मा जस्तै राम्रो भोट वडा नम्बर ६ मा ल्याउन सकेनन् ।

त्यसैगरी उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले १२ हजार ७१७ मत र राप्रपाकी हिमला गुरुङले सात हजार ११३ मत ल्याएका छन् । उपमेयरमा पाँच हजार ६०४ मतान्तर देखिएको छ । वडाअध्यक्षतर्फ वडा नम्बर ७ मा एमालेले ६०२ मत ल्याउँदा एकीकृत समाजवादीले ६८४ मत ल्याएको छ ।

लगातार अन्र्तघातको मारमा सुवेदी

भरतपुर महानगरपालिकामा चलिरहेको मतगणनालाई अध्ययन गर्दा स्वतन्त्र उम्मेदवार जगन्ननाथ पौडेलको उम्मेदवारीबाट एमालेले फाइदा लिने आकलन गरिएको थियो तर त्यस्तो भएको पाइएन । कांग्रेसका नेता तथा कार्यकर्ताले सुरुमा जे जस्तो असन्तुष्टि रहे पनि मतगणनालाई हेर्दा भने सबैले मेयरमा दाहाललाई नै मतदान गरेको देखिन्छ । दाहालले कांग्रेसको मात्र होइन एमाले कार्यकर्ताको समेत भोट प्राप्त गरेको देखिन्छ । एमालेले आफ्नै मत जोगाउन नसकेको प्रारम्भिक मतपरिणामबाट स्पष्ट हुन्छ । वडा अध्यक्षमा एमालेका उम्मेदवारले पाएको जति मत पनि मेयरका सुवेदीले प्राप्त गर्न नसक्नुलाई अन्र्तघातको रुपमा नै लिन सकिन्छ । मतगणनामा एक भोट हँसिया–हतौडामा हालेर बाँकी भोट सूर्यमा हालेको मतपत्र धेरै भेटिनु अन्तर्घातकै उदाहरण हो ।

एमालेको राम्रै पकड रहेको मानिएको वडा नम्बर ५ बाट रेनुले आफ्नो अग्रता बढाउन क्रम सुरु गरिन् । वडा अध्यक्षमा एमालेले १ हजार ९५१ मत पाएको वडा नम्बर ५ मा मेयरमा एमालेले १ हजार ४०९ मत मात्रै ल्याए । अन्य गणना भएका वडाहरुमा पनि त्यस्तै अवस्था रहेको देखिन्छ ।