७ बैशाख २०८१, शुक्रबार

रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी हानाहान, पाँच घाइते

fight
सांकेतिक तस्विर

रुख काटेको विषयमा रौतहटमा दुई दाजुभाइबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

रुख काटेको विषयलाई लिएर जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुरमा शुक्रबार दिउँसो सुकदेव पंडित र जगरनाथ पंडित दुवै दाजुभाइबीच खुकुरी हानाहान हुँदा ३ जना सामान्य र २ जना गम्भिर घाइते भएका छन् । विवादित जग्गामा रहेको मसलाको सुकेको रुख काटेको विषयमा पण्डित दाजुभाइबीचको समान्य झगडा झडपमा परिणत भएको प्रहरीले जनाएको छ । माधोपुर प्रहरी चौकीका अनुसार खेतमा सुकेको मसलाको रुख काटेर घरमा ल्याउन खोज्दा रुख किन काटेको त्यो रुख मेरो हो भन्दै सुकदेव पंडितले जगरनाथ पंडितमाथि खुकुरी प्रहार गर्दा दुवै जनाबीच झडप भएको थियो । झडपमा दुवै दाजुभाइले एक अर्कामाथि धारिलो खुकुरी लगायत हतियार प्रहार गरेको प्रहरी चौकी माधोपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक असई रामानन्द यादवले जानकारी दिए । झड्पमा जगरनाथको २२ वर्षीय छोरा रंजय पंडित र सुकदेवको छोरा उमेश पंडित दुवै जना गम्भिर घाइते भएका छन् भने जगरनाथ, उमेश र विशुनदयाल पंडित सामान्य घाइते भएको असई यादवले बताए ।

धारिलो हतियार प्रहारबाट रंजयको दाहिने कान र निधार काटिएको छ । त्यस्तै अर्का गम्भिर घाईते उमेशको टाउको, देव्रे हात, खुट्टा लगायत शरिरको विभिन्न भाग खुकुरीले काटिएको छ । गम्भिर घाइते दुवै जनाको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगंज पठाइएको छ भने सामान्य घाइते भएका तीनै जनाको जिल्लामै उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी माधोपुरले जनाएको छ ।