८ बैशाख २०८१, शनिबार

मन्दिर निर्माणको विषयमा भएको छलफलमा एमाले नेताद्वारा स्थानीयमाथि हातपात

beating

ओखलढुंगा सिद्धिचरण नगरपालिका–२ मा निशंखे भन्ज्याङमा मन्दिर निर्माण गर्ने विषयमा छलफलका क्रममा एमाले वडा कमिटी अध्यक्ष जीवन कटवालले स्थानीयमाथि हातपात गरेका छन् ।

वडा कमिटी अध्यक्ष कटवालले उपभोक्ता समिति गठन गर्ने क्रममा विवाद हुँदा स्थानीय प्रदीप कटवालमाथि हातपात गरेका हुन् ।

कटवालको कुटपिटबाट घाइते भएका कटवाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको काठमाडौंस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै निशंखेका माओवादीका वडा कमिटी अध्यक्ष बाबुराम कटवाल र कांग्रेसका वडा सभापति शम्बर बहादुर कटवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गर्दै पीडितलाई उचित क्षतिपुर्तिसहित न्यायको माग गर्नुभएको छ ।

विज्ञप्तीमा विकास निर्माणको काममा दादागिरी स्वीकार्य नहुने चेतावनीसमेत दिइएको छ ।

pic