७ बैशाख २०८१, शुक्रबार

महिलालाई बच्चा छाडेर विदेश जान अनुमति नदिइने

ratnanagar

चितवनको रत्ननगर नगरपालिकाले आफ्नो बच्चा छाडेर विदेश जान खोज्ने महिलालाई अनुमति नदिने नीति पारित गरेको छ । शुक्रबार सम्पन्न नवौं नगरसभाबाट पारित नीति तथा कार्यक्रममा आफूले जन्माएको बच्चा दुई वर्ष नहुँदै आमा–बुबा वा सासु–ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिइने उल्लेख छ । नगरपालिकाका प्रमुख नारायण बनले दूध खुवाउनुपर्ने आमाहरु विदेश जाँदा त्यसले समाज, बालबालिकामासमेत नराम्रो छाप परेकाले यसमा कडाइ गर्न लागिएको बताए ।

‘बालमैत्री नगरपालिकाको मापदण्ड पूरा गर्न पनि यो आवश्यक देखियो,’ नगरप्रमुख बनले भने, ‘त्योभन्दा पनि ठूलो कुरा बालबालिकाप्रति बाबुआमाले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्न चुक्दा त्यसले भोलि समाजमा कस्तो प्रभाव पार्ला भन्ने कुरा अति महत्वपूर्ण छ ।’ नगरपालिकाले सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीतिलाई पनि कार्यान्वयनमा लैजाने जनाएको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत नगरसभाबाट पारित भएको छ । यस्तै रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ को लागि एक अर्ब २६ करोडको बजेट पारित गरेको छ ।