६ बैशाख २०८१, बिहीबार

सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, पैदल हिड्न पनि समस्या

rakbork 750x375 1

सडक निर्माण कार्यमा सम्बद्ध ठेकेदार कम्पनीले ढिलाई तथा निर्माण भइसकेका सडकको पानी समेत निकास नपाउँदा जिल्लाका अधिकांश सडकबाट अहिले पैदल हिड्न र सवारी संचालनमा समस्या भएको छ ।

लगातार दुई दिनदेखी भइरहेको वर्षाका कारण जिल्लाको राजविराज–रुपनी, पातो–कठौना, महदेवा–पकरी, भारदह–बरमझिया लगायतका सडक खण्डको विभिन्न स्थानमा खाल्डा खुल्डी तथा पानी र हिलो जमेर आवागमन कष्टकर बनेको हो । जसका कारण सवारी दुर्घटनाका घटना बढ्नुका साथै आवागमन अत्यन्तै कष्टकर बनेको स्थानियको भनाई छ । यस्तै राजविराज नगरपालिकाको मुख्य बजार क्षेत्रमा समेत वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । नाला निर्माण भइसकेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरको अदालत रोड, सिरहा रोड, मिथिला टोल लगायतका सडक जलमग्न भई आवागमन कष्टकर बनेको छ । यस्तै कठौना–पातो, भारदह–बरमझियाबीचको सडक धान रोप्ने खेत जस्तै भएको छ । कठौना–पातो सडक खण्डमा ओहोर–दोहोर गर्दा गाडी खाल्डो खुल्डी र हिलोमा फस्ने गरेका छन् भने गाउँमा बाहिर जानु पर्ने बेला अधिकांशले चप्पल जुत्ता लगाउँदैनन् । बाहिरबाट आएकाहरु पनि चप्पल जुत्ता हातमै बोकेर ओहोर दोहोर गर्ने तथा गाउँमा अत्यावश्यक गाडी ओहोर दोहोर गर्न नसकेको स्थानियवासी महेन्द्र सदा बताउँछन् । महदेवा–पकरी सडक खण्डको अवस्था पनि उस्तै छ ।

यहाँ सडकभरी हिलो नै हिलो छ । हिलाम्मे बाटोमा काम नपरि कोही निस्किदैनन् । बाध्यता प¥यो भने मात्र घरबाट बाहिर निस्कन्छौं स्थानिय यूवा दिनेश मण्डल बताउछन् । सडकको दुरावस्था बारे सम्बन्धीत निकायले समयमै ध्यान नदिदा वर्षायाममा यस्तो बिजोग हुने गरेको स्थानियको गुनासो छ । लामो समयदेखी मर्मत सम्भार हुन नसक्नु, निर्माण कार्यमा ढिलाई गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न नसक्नु, आवश्यक ठाउँमा सडक र नाला निर्माण हुन नसक्नु तथा निर्माण भएका स्थानमा पनि पानी निकासको उचित व्यवस्था गर्न नसक्नुले जिल्लाका अधिकांश सडक अहिले वर्षाको पानीले क्षतविक्षत भएको हो । वर्षेनी वर्षायाममा उत्पन्न हुने यस्तो समस्याको स्थायी समाधान खोज्न स्थानियले माग गरेका छन् ।