२९ बैशाख २०८१, शनिबार

अविरल वर्षाले जलमग्न रौतहटको सदरमुकाम गौर

gaur 750x375 1

रौतहटको सदरमुकाम गौरमा पानी निकासको व्यवस्थापन नहुदा मुख्य र सहायक बाटो वर्षाको पानीले जलमग्न भएको छ ।

दर्जनौ सरसफाईकर्मी कार्यरत रहेपनि नगरपालिकाको सरसफाईको अवस्था कमजोर बनेको छ । गौर नगरपालिका क्षेत्र भित्र नाला नहुँदा पानी निकासको समस्या जटिल छ । पानी पर्दा मुख्य सडकको कारागार कार्यालयदेखि पुर्व रौतहट जिल्ला अदालतको नजिक सम्म बाटोमा १ फिट पानी जम्ने गरेको छ । जिल्ला प्रसाशन कार्यालय जाने बाटो, गौर नगरपालिका कार्यालय जाने बाटो , नगरपालिका कार्यलय भित्र पुर्व , गुदरी बजार जाने बाटोको अवस्था दैनिय छ । पानी निकास नभएको कारण बाटोहरुमा पानी जम्ने गरेको छ । कालोपत्रे पिचमा पानी जमेपछि पिच खराब हुने गरेको हो । सवारी साधनको चाप बढी भएकोले बाटो भत्किने र विच विचमा खाल्डो हुने गरेको छ । नगरपालिका कार्यालयमा जाने बाटोमा अहिले सम्म नाला निर्माण हुन् सकेको छैन । पानी जमेको ठाउँबाट सर्व साधारणलाई हिडेर जानु पर्ने बाध्यता भएको छ । स्थानीय निर्वाचन भएको ४ वर्ष भन्दा बढी वित्न लाग्दा पानी कार्यालय भएको ठाउँको सडक र नाला निर्माण गर्न सकिएको छैन ।

वडा नम्बर १ को तैयब नरसिंह होमदेखि ट्रान्सफर्मर चौक सम्म जाने बाटो तथा शान्त सिनेमा घर हुदै बजार सम्म जाने बाटो वर्षौदेखि विभेदमा परेको गुनासो स्थानीयको रहेको छ । पटक पटक बजेट विनियोजन गर्दा पनि बाटो निर्माण हुन् सकेको छैन, नाला निर्माण नहुदा स्थानियलाई पानी निकासको ठुलो समस्या भोग्नु परिरहेको छ । गौरमा शहरी विकास मन्त्रालयको सघन शहरी कार्यक्रम अन्तर्गत सडक निर्माण गरिएको भएपनि नगरपालिकाबाट ठोस योजनाको कार्यान्वयन नभएको स्थानियहरुको दावी रहेको छ । प्रत्येक वर्षको ९५ प्रतिशत रकम खर्च गर्दै आएको दावी नगरपालिकाले गरेपनि दावी अनुसारको विकास हेर्न पाउने अवस्था रहेको छैन । ठाउँ ठाउँमा फोहरको भण्डारण भएको देख्न सकिन्छ । शहरी क्षेत्र अवस्था सुधारोन्मुख नरहेको गौर नगरपालिकाको ग्रामीण भेगको अवस्था कस्तो होला भनि सहज रुपमा अनुमान गर्न सकिने नेकपा एमालेका नेता एवं गौर नगरपालिकाका नगर प्रत्यासी शम्भु साहको टिप्पणी रहेको छ ।