१५ बैशाख २०८१, शनिबार

आज असार १५ – दही र च्यूरा खाने दिन

dahi chiura

आज असार १५ अर्थात राष्ट्रिय धान दिवस र दही र च्यूरा खाने दिन। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ ।

राष्ट्रिय धान दिवस वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि मनाउन थालिएको हो ।

यसका साथै असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।

असार १५को पर्याय हो दही–चिउरा। दही–चिउरा खानु परम्परा हो तर असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?

खेतिको समयमा कामको चटारो हुने हुँदा किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । गाँउ घरमा दही–चिउरा तयारी अवस्थामा हुने र यसलाई पकाइरहनु नपर्ने हुनालेनै रोपँइको समयमा कामको हतारोबीच दही चिउरा रोजिएको हुनसक्छ।

दही चिउरा स्वस्थ्यवद्र्धक पनि छ । वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने डर हुन्छ । तर दही चिउरा सडेर नजाने र अन्य खानाको तुलनामा संक्रमणको भय पनि नहुने हुन्छ ।

चिउरा स्वास्थ्यवद्र्धक खानेकुरा हो । यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनैपनि किसिमको संक्रमण हुँदैन ।

त्यसमाथी दहीमा भएका व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पुर्‍याउँछ । दही पाचन प्रणालीको लागि निकै उपयोगी पेय मानिन्छ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्ने हुँदा स्वाथ र समयको ख्याल गर्दै रोपाँइको समयमा दहि-चिउराको प्रचलन चलिआएको मान्यता रहेको छ ।