१३ बैशाख २०८१, बिहीबार

विद्युत विस्तारको माग गर्दै जनप्रतिनिधि आमरण अनसनमा

annnnn2021 06 28 01 26 01

विद्युत विस्तारको माग गर्दै बैतडीको मेलौलीमा जनप्रतिनिधि आमरण अनसनमा बसेका छन् । गाउँमा विद्युत विस्तार नभएको भन्दै मेलौली नगरपालिका वडा नं ९ का वडा सदस्य भीमदत्त भट्ट आमरण अनसनमा बसेका हुन् । गाउँमा विद्युत नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयहरुले अकालमा ज्यान गुमाउनु परीरहेकाले आमरण अनसनमा बसेको वडा सदस्य भट्टले बताए ।

मेलौली नगरपालिकाको भवनकै आँगनमा आफूहरुले सोमबार बिहानदेखि अनसन शुरु गरेको वडा सदस्य भट्टले बताए । अहिले वडा सदस्य भट्ट सहित स्थानीय बमबहादुर चन्द अनसनमा बसीरहेका छन् । आफूहरु सबै स्थानीयको प्रतिनिधित्व गरेर अनसनमा बसेको भट्टको भनाई छ ।

मेलौली नगरपालिकाको वडा नं ८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत पुगिसकेकाले त्यतैबाट विद्युत विस्तारका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ ।

यता मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताए । विद्युत विस्तारको काम प्रक्रियामा अघि बढीसकेकाले अनसन बस्नु आवश्यक नरहेको नगरप्रमुख नायकको भनाई छ । पालिकाका तर्फबाट सबै सरोकारवालाहरुलाई विद्युत विस्तारका लागि पहल गरिरहेको उनको भनाई छ ।