१४ बैशाख २०८१, शुक्रबार

जसपाको एक नम्बर अध्यक्षको रुपमा महन्थले गरे आफूलाई प्रस्तुत

mahant thakurrr 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर अध्यक्षको रुपमा महन्थ ठाकुरले आफूलाई प्रस्तुत गरेका छन् । ठाकुर पक्षले निर्वाचन आयोगलाई पठाएको पत्रमा पार्टीको एक नम्बर अध्यक्ष ठाकुर रहेको दावी गरेका हुन् ।

पुस ७ गतेको बैठकले महन्थ ठाकुरलाई कार्यकारिणीको अधिकार दिएका कारण उनी एक नम्बरको अध्यक्ष रहेको दावी गरिएको जसपाका एक कार्यकारिणी सदस्यले बताएका छन् । पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरलाई कार्यकारिणीको अधिकार दिइ कार्यकारिणी समिति हेरफेर गर्ने अधिकार दिएको उनले बताए । सोही अधिकारलाई प्रयोग गरी समितिमा हेरफेर गरेको र कार्यकारिणी समितिमा बहुमत रहेको प्रमाण निर्वाचन आयोगमा दिएको उनले जानकारी दिए ।

जसपाभित्र बढ्दो विवादका बीच ठाकुरले निर्वाचन आयोगमा कार्यकारिणी समितिको बहुमत सदस्य आफूसँग रहेको दावीसहितको हस्ताक्षर बुझाइसकेका छन् । अध्यक्ष ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षका २० जना हटाएर आफ्नो पक्षबाट २० जना राखेका छन् । त्यसरी बहुमत देखाएर निर्वाचन आयोगमा आइतबार पत्र पठाएको एक नेताले बताए ।

ठाकुरले आयोगमा बुझाएको पत्रमा कार्यकारिणी समितिका ३८ जना सदस्यको हस्ताक्षर रहेको छ । जसमा कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले गरेका निर्णयको प्रतिलिपि पनि बुझाइएको छ । त्यस्तै, २०७७ पुस ७ गते बसेका कार्यकारिणी समितिको बैठकले गरेको निर्णयको प्रतिलिपि पनि पठाइएको छ ।

उपेन्द्र यादव पक्षले भने पुस ७ को बैठकमा ठाकुरलाई अधिकार दिनेगरी त्यस्तो कुनै निर्णय नभएको दावी गरेका छन् । यसअघि नै यादव पक्षले दलको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।