१४ बैशाख २०८१, शुक्रबार

गण्डकी सरकारमा मन्त्रीहरुको कार्यविभाजन : दिपक मनाङे विना विभागीय मै सिमित

dipak managay
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

राजिव गुरुङ (दीपक मनाङे) लाई भने कुनै जिम्मेवारी दिइएको छैन । उनी विना विभागीय मै सिमित रहेका छन् । मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन खोज्दा अस्वीकार गरेका छन् । उनले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा दाबी गरेका छन् ।

त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै छन् ।

गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त पोखरेलले चार मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार दलहरुबीच सहमति नहुँदा उनीहरुको मन्त्रालय तोकिएको थिएन । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । जनमोर्चा भने सरकारमा सहभागी छैन ।