१९ बैशाख २०८१, बुधबार

संविधानले नै वैकल्पिक सरकार दिन नसकेपछि नयाँ जनादेशमा जान लागिएकाे हो : उपप्रधानमन्त्री पौडेल

202349419 529467681429070 1969885990290339985 n

उपप्रधानमन्त्री, गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानले नै वैकल्पिक व्यवस्था दिन नसकेर सरकार बाध्य भएर नयाँ जनादेशमा जान लागेको बताउनुभएको छ ।

शनिबार बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन योजनाको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले यो बाध्यकारी अवस्था सरकारले चाहेर नआएको प्रष्टाउनुभएको थियो ।

‘सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा आफूलाई विश्वासको मत माग्दा नपाएपछि मार्गप्रशस्त गर्नुभयो, निर्धारित समयमा वैकल्पिक सरकार गठन नभएपछि संसद विघटन गरेर नयाँ जनादेशमा जाने बाध्यकारी वैकल्पिक बाटो लिनुभएको हो’ उहाँले भन्नुभयोे । अब चुनावबाहेकको अन्य विकल्प केही छैन, उहाँले भन्नुभयोे – यसमा सबैले तयारी गरेर अगाडि बढ्दा सबैको हित हुनेछ । तर निर्वाचन घोषणको विषयप्रति विपक्षी दलहरुले गरेको विरोधप्रति संकेत गर्दै उहाँले भन्नुभयोे–‘राजनीतिक दलहरु जनादेश लिने विषयमा किन डराउनु, लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन नै हो, सबैले निर्वाचनको तयारी गरौं, लोकतन्त्रको प्राण हो निर्वाचन त ।’

संसद विघटनको विषयमा अदालती प्रक्रियामा गएकोमा असन्तुष्टि व्यक्त गर्दै मन्त्री पौडेलले भन्नुभयो–‘ मुद्दामामिला अगाडि बढेको छ, हेरांै के हुन्छ ? हामीले वैकल्पिक व्यवस्थाका लागि यो विधि प्रयोग गरेका हौं ।’ उपप्रधानमन्त्री पौडेलले राजनीतिक स्थायित्वका लागि नागरिकले दिएको अभिमत पूरा हुन नसकेको बताउनुभएको छ ।

‘राजनीतिक स्थायित्वका लागि गत निर्वाचनमा हामीले मत मागेका थियौं, विकासको एजेण्डामा अगाडि बढ्ने भनेर मत मागेका थियौं तर देशमा अनपेक्षित परिणाम आयो’–उहाँले भन्नुभयोे । सत्तारुढ दलभित्रका केही र अन्य दलका केही व्यक्तिहरु निरन्तर यसको प्रहारमा लागेकाले अहिलेको अवस्था आएको उहाँको भनाइ थियो ।

नागरिकको जीवनलाई बचाउने मुख्य उद्देश्यका साथ सरकारले निर्वाचन अगाडि खोपको व्यवस्था गरेर मास्क खोलेर भोट दिन पाउनेगरी योजना बनाएको उहाँले बताउनुभयो । कोभिड संक्रमितको उपचार, परीक्षण तथा नियन्त्रण र खोपको निःशुल्क व्यवस्थापनका लागि सरकारले विशेष योजना बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।