२२ बैशाख २०८१, शनिबार

स्वास्थ्य, शिक्षा र पूर्वाधारमा घोराही उपमहानगरको प्राथमिकता (पुर्णपाठ सहित)

ghorahi

घोराही उपमहानगरपालिकाले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रबद्र्धन, महिला बालबालिका तथा जेष्ठ नागरिक गरि सामाजिक विकास अन्तरगत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

स्वास्थ्य तर्फ जनस्वास्थ्य प्रबद्र्धनका लागि ११ करोड ४१ लाख, कोरोना संक्रमितको उपचार, व्यवस्थापन र मृत्युभएकाको परिवारलाई आर्थिक सहयोगका लागि एक करोड ८० लाख विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले कोरोना मनोसाजिक परामर्शका लागि १५ लाख, खोप व्यवस्थापनका लागि ३० लाख र अक्सिजन प्लान्ट सञ्चालन अनुदानमा २० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणका लागि २ करोड ४० लाख, निशुल्क रक्त सञ्चारका लागि ८ लाख, आमा सुरक्षाका लागि १५ लाख, निशुल्क मोतिया बिन्दु शल्यक्रियाका लागि ८ लाख, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँचका लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षा तर्फ स्नातक तहका अन्तिम बर्षका जेहेन्दार विद्यार्थीलाई पेड इन्टर्नसिप कार्यक्रमका लागि १० लाख, युवा तथा खेलकुदका लागि २५ लाख, डाक्टर र इन्जिनियर पढाउनका लागि १६ लाख, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग दलित, मुस्लीम, पिछडाबर्ग, मुक्त कमलरी, द्धन्द्ध पिडितहरुको उत्थानका लागिएक करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, आर्थिक बिकास अन्तरगत ४ करोड ६० लाख ४ हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकास तर्पm सडक पिच, ग्राभेल तथा बाट स्तर उन्नतीका लागि ४६ करोड १० लाख, भवन निर्माणका साढे ५ करोड, सिचाईका लागि ४ करोड ६५ लाख, पुल कल्भर्टमा २ करोड ४० लाख, पर्यटन पू्र्वाधार तर्फ एक करोड ३४ लाख, विद्युत बिस्तारका लागि ९३ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, सरसफाई तर्फ एक करोड ५ लाख ५० हजार, खरको छानो बिस्थापितका लागि साढे २ करोड, विपद व्यवस्थापन कोषमा एक करोड, जोखिम युक्त जलाशय तारबार, हरीयालि प्रबद्र्धन, भूक्ष्य रोक्ने जस्ता कार्यक्रमका लागि ६ करोड ४८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।

घोराही उपमहानगरपालिकाको नवौं नगरसभा समक्ष नगरउपप्रमुख श्री सीतासिग्देल न्यौपानेज्यूद्धारा प्रस्तुत आर्थिक वर्ष२०७८/०७९को बजेट वक्तव्य

नगरसभाका अध्यक्ष महोदय,

  1. वि.सं.२०७६को अन्त्यबाट देखा परेको कोभिड १९ महामारीको कारण नागरिकमा देखा परेको डरत्रास एवं मनोवैज्ञानिक असर क्रमशः कम हुदै जनजीवन सामान्य भैरहेको अवस्थामा पुनःनयाँ वर्ष २०७८को पूर्व सन्ध्यासंगै देखापरेको कोभिड-१९ को दोश्रो लहरले आक्रान्त पारेको बिषम परिस्थितीको सामना गर्दै नगरवासीको जीवन रक्षा गर्न, आर्थिक, सामाजिक एवं विकास निर्माणका क्रियाकलापलाई गतिशिल तुल्याउदै र जनजीवनलाई सामान्यीकरण गर्दै आयोजना, कार्यक्रम कार्यान्वयन गर्न सकिने दृढ विश्वासका साथ आगामी आर्थिक वर्ष २०७८/०७९को बजेट प्रस्तुत गर्न गइरहेको छु।
  2. सर्वप्रथम, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ती विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, संघर्ष र क्रान्तिमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण शहिदहरु प्रति श्रद्धा सुमन अर्पण गर्दछु।ती आन्दोलनमा नेतृत्त्व गर्नु हुने अग्रजहरु र महत्वपूर्ण योगदान गर्नु हुने आमाबुबा, दिदीबहिनी, दाजुभाई एवं घाइते योद्धाहरु तथा वेपत्ता नागरिकहरु प्रति उच्च सम्मान प्रकट गर्दछु।
  3. नगर स्थापना देखि नगर निर्माणको विभिन्न चरणमा नेतृत्त्व गर्नु हुने अग्रज ब्यक्तित्वहरुले नगर निर्माणमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै उहाँहरु प्रति उच्च सम्मान ब्यक्त गर्दछु।
  4. कोभिडका कारण मृत्युवरण गर्नु हुने सम्पूर्ण नगरवासीहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु।उपचार गराई रहनु भएका आमाबुबा, दिदीबहिनी, दाजुभाईहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।कोभिड संक्रमण,रोकथाम, नियन्त्रण र उपचारको कार्यमा योगदान पुर्याउनुहुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, व्यवसायिक संघ संस्था,गैर सरकारी संघ संस्था , संचार जगत, अस्पताल, ऐम्बुलेन्स चालक लगायत आर्थिक तथा प्राविधिक सहयोग एवं स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै संघ संस्थालई धन्यबाद दिन चाहन्छु।

नगरसभाका अध्यक्ष महोदय,

  1. स्थानीय तहको निर्वाचन पश्चात हामीले पूर्वाधार विकास,आर्थिक क्रियाकलापमा बढोत्तरी, सामाजिक विकास र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छौं।केन्द्रसंग जोडिने मुख्य सडकहरुको दिगोपना, ग्रामिण कृषि सडकहरुको स्तरोन्नती, खानेपानी, सिंचाई,पुल कल्भर्ट जस्ता पूर्वाधारहरुको नियमित निर्माण एवं मर्मतबाट दुर दराजका ग्रामिण बस्तीहरु केन्द्रसंग जोडिन गई आर्थिक क्रियाकलापहरु चलायमान भएका छन्
  2. कृषकहरुलाई मुल बिउँ, उन्नत बिउँ एवं कृषि यान्त्रिकरणमा अनुदान, पशु व्यवसायमा नश्ल सुधार एवं अनुदान लगायतका कृषक अभिप्रेरित कार्यक्रमले कृषि पेशालाई आकर्षित एवं सम्मानित पेशाका रुपमा स्थापित गर्न मद्दत पुगेको छ।
  3. पूर्ण सरसफाई अभियान, खरको छानो मुक्त अभियान, महिला, बालबालिका, जेष्ठ नागरिकका लागि लक्षित कार्यक्रम, बञ्चितीमा परेका वर्ग, क्षेत्र, समूहहरुको उत्थानका कार्यक्रमहरु, स्थानीय स्तरमै न्यायिक निरुपण लगायतका कार्यक्रम एवं नीतिगत व्यवस्थाले पनि स्थानीय तह प्रति नागरिकको बिश्वास र भरोसा बढेको अनुभूति गरेको छु।
  4. शैक्षिक सुधारका लागि दरबन्दी मिलान अनुरुप शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण एवं मर्मत, एक वडा एक स्वास्थ्य संस्थाको नीति, सोही अनुरुपको जनशक्ति परिचालन एवं पूर्वाधार निर्माण, बेरोजगार ब्यक्तिहरुको सूचिकरण एवं न्यूनतम १०० दिनको रोजगारको ग्यारेन्टी, कल्याणकारी राज्यको अवधारणा अनुरुप सामजिक सुरक्षाका कार्यक्रमहरुको सफल कार्यान्वयन एवं सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोगबाट “नागरिकसंगै सरकार”को अनुभूति दिलाउन सकिएको छ।

नगरसभाका अध्यक्ष महोदय,

अब म चालु आर्थिक वर्षको ११(एघार) महिनाको बजेट कार्यान्वयनको अवस्था संक्षिप्त रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  1. संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमअन्त्यरगत चालु तर्फ बिनियोजित बजेट रु. ६० करोड ५५ लाख ७५ हजार मध्ये ६९.६४ प्रतिशत खर्च भएको छ भने पूँजिगत तर्फ बिनियोजित बजेट रु. १० करोड ७२ लाख ६८ हजार ४५७ मध्ये २७.६१ प्रतिशत खर्च भएको छ।संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमको औसत खर्च ६३.३१ प्रतिशत रहेको छ।
  2. प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमअन्त्यरगत चालु तर्फ बिनियोजित बजेट रु. १ करोड ६३ लाख ५० हजार मध्ये ३३.५६ प्रतिशत र पूँजिगत तर्फ बिनियोजित बजेट रु. १३ करोड ९५ लाख मध्ये २२.४४ प्रतिशत खर्च भएको छ।प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमको औसत खर्च २३.६ प्रतिशत रहेको छ।
  3. आन्तरिक बजेटबाट चालु तर्फ बिनियोजित बजेट रु. ५८ करोड ३२ लाख ९ हजार ९२२ मध्ये ६९.३७प्रतिशत खर्च भएको छ भने पूँजिगत तर्फ बिनियोजित बजेट रु. ७८ करोड ८४ लाख ४७ हजार ६३९ मध्ये ४७.८४ प्रतिशत खर्च भएको छ।आन्तरिक बजेट तर्फको औसत खर्च ५६.९९ प्रतिशत रहेको छ।
  4. संघ, प्रदेश र घोराही उपमहानगरपालिकाको आन्तरिक बजेट समेत कुल बजेटबाट चालु तर्फ बिनियोजित बजेट मध्ये ६९.०३ प्रतिशत खर्च भएको छ भने पूँजिगत तर्फ ४२.३२ प्रतिशत खर्च भएको छ।कुल बजेटको औसत खर्च ५६.६७ प्रतिशत रहेको छ।
  5. राजश्व संकलन तर्फ चालु आर्थिक वर्षको ११(एघार) महिनामा रु. २० करोड ४ लाख ९९ हजार ५५६ संकलन भएको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधीमा रु. २१ करोड ६० लाख १६ हजार ६८३ संकलन भएको थियो।अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा राजश्व संकलन ६.२ प्रतिशत ऋणात्मक रहेको छ।
  6. क्षेत्रगत रुपमा हेर्दा आर्थिक विकास अन्त्यरगत कृषि विकास तर्फ ६५.८४ प्रतिशत,पशु सेवा तर्फ ४३.३८ प्रतिशत, पर्यटन तथा संस्कृती प्रवर्द्धन तर्फ १३.४५ प्रतिशत, उपभोक्ता हित संरक्षण तर्फ ५६.३१ प्रतिशत, सहकारी तथा रोजगार प्रवर्द्धन तर्फ ९.६५ प्रतिशत र राजश्च व्यवस्थापन तर्फ शून्य प्रतिशत खर्च भएको छ।
  7. सामाजिक विकास अन्त्यरगत शिक्षा,युवा तथा खेलकुद तर्फ ४७.८८ प्रतिशत, जनस्वास्थ्य प्रवर्द्धन तर्फ ५२.२१ प्रतिशत, महिला,बालबालिका तथा जेष्ठ नागरिक तर्फ ७३.९५ प्रतिशत खर्च भएको छ।
  8. पूर्वाधार विकास अन्त्यरगत सहरी, विकास तथा पूर्वाधार तर्फ ३८.३७ प्रतिशत खर्च भएको छ।
  9. सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन अन्त्यरगत सरसफाई व्यवस्थापन तर्फ १७.७४ प्रतिशत र वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५३.२६ प्रतिशत खर्च भएको छ।
  10. सार्वजनिक सेवा, सुशासन तथा संस्थागत विकास अन्त्यरगत सामान्य प्रशासन तर्फ ३९.४५ प्रतिशत,कानूनि मामिला तर्फ २७.५७ प्रतिशत, सूचना तथा संचार प्रविधि तर्फ ४१.१३ प्रतिशत,सामाजिक सुरक्षा तथा पंजिकरण तर्फ ४७.१७ प्रतिशत खर्च भएको छ।
  11. उपर्युक्त तथ्यगत आधार तथा लकडाउन र बन्दाबन्दीको अवधी लम्बिएको कारण चालु आर्थिक वर्षको अन्त्य सम्म सबै विषयगत क्षेत्रमा बिनियोजित बजेट खर्च हुने सम्भावना न्यून देखिन्छ।

नगरसभाका अध्यक्ष महोदय,

अब म आगामी आर्थिक वर्ष २०७८।०७९को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको वार्षिक योजना, बजेट तथा बजेट तर्जुमाका आधारहरु र वार्षिक बजेटका उद्देश्य तथा प्राथमिकताहरु गरिमामय नगर सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  1. बजेट तर्जुमा गर्दा मैले मुलतः नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन , २०७४, घोराही उपमहानगरपालिकाको एकिकृत शहरी विकास योजना, अन्त्यर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त ऐन, २०७४, नेपाल सरकारको १५औं योजना मार्गदर्शन,स्थानीय तहमा बजेट तर्जुमा कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ती हस्तान्तरण सम्बन्धी निर्देशिका, संघ र प्रदेश सरकारबाट जारी भएका नीति, कानून तथा मापदण्डहरु, संघ र प्रदेश सरकारबाट तर्जुमा भएका बजेट, कार्यक्रम तथा प्राथमिकताहरु, संघ र प्रदेश सरकारबाट अबलम्बन गरिएका आर्थिक तथा सामाजिक नीतिहरु, नेपाल सरकारले प्रतिबद्धता जनाएका दिगो विकासका लक्ष्यहरुलाई मुख्य आधारका रुपमा लिएकोछु।नगरवासी आमाबुबा, दिदीबहिनी, दाजुभाई, जनप्रतीनिधि,नागरिक समाज, निजी व्यवसायिक संघ संस्था, बुद्धिजीवी, पेशाविद्ध, संचारजगत लगायत सबैबाट प्राप्त सुझावलाई उच्च महत्व दिएको छु।
  2. स्वास्थ्य क्षेत्रमा थप पूर्वाधार विकास गरी कोरोना लगायत संक्रामक रोग, महामारीबाट नगरवासीको जीवन रक्षा गर्ने, एकिकृत सहरी विकासको ढाँचा अनुरुप सबै क्षेत्रकोदिगो एवं सन्तुलित विकास गर्ने, उपलब्ध स्रोत साधनको उपयुक्त क्षेत्रमा लगानी प्रवाहित गरी आर्थिक उन्नयन एवं सामाजिक विकासका माध्यमबाट जीवनस्तरमा सुधार गर्ने, सबै प्रकारका सामाजिक, आर्थिक विभेदको अन्त्य गर्दै विकास, समृद्धी र सामाजिक न्यायको यात्रालाई थप गतिशिल बनाउने, कोभिडका कारण अबरुद्ध भएको शैक्षिक क्रियाकलापलाई बैकल्पिक शिक्षण सिकाईका माध्यमबाट नियमितता र निरन्तरता दिने र नागरिक मैत्री सेवाको अवधारणा अनुरुप सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता एवं विकासमा जनसहभागिता मार्फत सुशासन प्रवर्द्धन गर्ने उद्देश्य परिपूर्ति गर्न मैले मुलतः कोरोना रोकथाम, उपचार र नियन्त्रणमा योगदान पुर्याउने, आर्थिक, सामाजिक विकास तथा गरिबी न्यूनिकरणमा योगदान पुर्याउने, स्थानीय सहभागिता जुट्ने, स्रोत साधन र शीपको अधिकतम प्रयोग हुने, वातावरण संरक्षण, सबै क्षेत्रको दिगो एंव सन्तुलित विकासमा टेवा पुर्याउने, महिला बालबालिका, पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण अभिवृद्धि गर्ने, भाषा, साहित्य, कला, संस्कृतीको जगेर्ना गर्ने तथा सामाजिक सदभाव एवं एकता अभिवृद्धिमा सघाउ पुर्याउने,उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने र उपमहानगरको आफ्नै बिशिष्ट सम्भाव्यता एवं आवश्यकता बमोजिमका आयोजनाहरुलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको छु।

नगरसभाका अध्यक्ष महोदय,

अब म आगामी आर्थिक वर्ष २०७८/०७९को लागि क्षेत्रगत बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु।क्षेत्रगत बजेट निम्नानुसार बिनियोजन गरिएको छ।

सामजिक विकास अन्त्यरगत

  1. कोभिड-१९ संक्रमणबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग, कोभिड उपचार तथा व्यवस्थापनमा रु. १ करोड ८० लाख बिनियोजन गरेको छु।
  2. पोष्ट कोभिड व्यवस्थापन, होम आइसोलेसन अनुगमन, मनोसामाजिक परामर्शका लागि रु. १५ लाख, एन्टिजेन परिक्षण, कोभिड भ्याक्सिन व्यवस्थापनका लागि रु. ३० लाख र अक्सिजन प्लान्ट सञ्चालन अनुदानमा रु. २० लाख बिनियोजन गरेको छु।
  3. स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणका लागि रु. २ करोड ४० लाख, एम्बुलेन्स व्यवस्थापनमा रु. १० लाख, निःशुल्क रक्तसंचारका लागि रु. ८ लाख आमा सुरक्षा कार्यक्रममा रु. १५ लाख, अत्यावश्यक औषधी तथा स्वास्थ्य उपकरण खरिदमा रु. २६ लाख, आँखाको निःशुल्क मोतियाबिन्दु शल्यक्रियाको लागि रु. ८ लाख, जेष्ठ नागरिक घर दैलो स्वास्थ्य जाँच कार्यक्रमका लागि रु. ८ लाख लगायत स्वास्थ्यसंग सम्बन्धित अन्य विविध कार्यक्रमका लागि रू. ४५ लाख र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ५ करोड ३६ लाख समेत जनस्वास्थ्य प्रवर्द्धन तर्फ रु. ११ करोड ४१ लाख बिनियोजन गरेको छु।
  4. शिक्षा तर्फ मा.वि., नि.मा.वि., बालविकास अनुदानमा रु. १ करोड ३८ लाख १३ हजार, बालविकास स.का. , विद्यालय सहायक कर्मचारी, विद्यालय सहयोगी, सामुदायिक अध्ययन केन्द्रका परिचालिका, गृहिणी शिक्षक र आयाको तलबमा रु. २ करोड ५४ लाख ९ हाजर बिनियोजन गरेको छु।
  5. घोराही उपमहानगरपालिकामा स्थायी बसोबास भएका घोराही उपमहानगरपालिका क्षेत्रमा अवस्थित कलेज, क्याम्पसमा अध्यनरत स्नातक तहका अन्तिम वर्षका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिने पेड ईन्टर्नशिप कार्यक्रमको लागि रु. १० लाख बिनियोजन गरेको छु।
  6. युवाहरुको क्षमता विकास कार्यक्रमका लागि रु. ८ लाख, खेलकुद कार्यक्रमका लागि रु. १७ लाख, डाक्टर-ईन्जिनियर छात्रवृत्तीको लागि रु. १६ लाख लगायत शिक्षा संग सम्बन्धित अन्य कार्यक्रममा रु. ६४ लाख र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत शिक्षा, युवा तथा खेलकुद तर्फ बिनियोजित बजेट रु. ५२ करोड ४ लाख समेत रु. ५७ करोड ११ लाख २२हजार बिनियोजन गरेको छु।
  7. महिला, बालबालिका तर्फ लैङ्गिक समानता तथा सामजिक समावेशिकरण, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग, दलित, मुस्लिम, मुक्त कमलरी, पिछडा वर्ग, लोपोन्मुख जाती, द्वन्द पिडित लगायत सबै क्षेत्र, वर्ग, समुदाय, समूहको उत्थान एवं समाजमा विद्यमान कुरिती, विसंगती बिरुद्ध सचेतना कार्यक्रम तथा संस्थागत अनुदान समेत रु. १ करोड २ लाख ४२ हजार र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. १३ लाख र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ५ लाख समेत रु. १ करोड २० लाख ४२ हजार बिनियोजन गरेको छु।
  8. शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रवर्द्धन, महिला बालबालिका तथा जेष्ठ नागरिक गरी सामाजिक विकास तर्फ रू. ६९ करोड ७२ लाख ६४ हजार अर्थात कुल बजेटको ३१.६५ प्रतिशत बिनियोजन गरेको छु।

आर्थिक विकास अन्त्यरगत

  1. कृषि विकास तर्फ ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण, औजार उपकरण, कृषी सहकारीलाई ६० प्रतिशत मुल बिउँमा अनुदान, ६० प्रतिशत अनुदानमा प्याजको बिउँ वितरण, ७५ प्रतिशत अनुदानमा बेमौसमी तरकारी खेतीको लागि फलामस्ट्रक्चर, प्लास्टिक टनेल अनुदान, ५० प्रतिशत अनुदानमा बर्षे फलफूल (आँप, लिची, अम्बा), तरकारीको कम्पोजिट प्याकेट बिउँ बितरणमा शत प्रतिशत अनुदान, ५० प्रतिशत अनुदानमा माहुरीका लागि सामाग्री बितरण, ५० प्रतिशत अनुदानमा च्याउको बिउँ बितरण कार्यक्रमका लागि ६६ लाख ५० हजार बिनियोजन गरेको छु।
  2. कृषि विकाससंग सम्बन्धित अन्य कार्यक्रमको लागि रु. १३ लाख ५० हजार र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. १ करोड २३ लाख र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ५ लाख ४४ हजार समेत रु. २ करोड ८ लाख ४४ हजार बिनियोजन गरेको छु।
  3. पशु सेवा तर्फ ५० प्रतिशत अनुदानमा मागमा आधारित कार्यक्रम, ५० प्रतिशत अनुदानमा वर्सिम घाँसको बिउँ बितरण कार्यक्रम, ५० प्रतिशत अनुदानमा माछाका भुरा बितरण कार्यक्रम, ५० प्रतिशत अनुदानमा बाख्रा तथा बंगुरको खोर सुधार कार्यक्रमका लागि रु. २१ लाख ५० हजार बिनियोजन गरेको छु।
  4. आकस्मिक रोग नियन्त्रण, आन्तरिक तथा बाह्य परजिवि नियन्त्रण, खोप खरिद, पशु स्वास्थ्य शिविर, जै घाँसको बिउँ बितरण, दुग्ध ढुवानीमा जर्किन विस्थापन, सार्वजनिक गाई व्यवस्थापन, गोठ,भकारो सुधार कार्यक्रम लगायत पशु सेवा संग सम्बन्धित अन्य कार्यक्रममा रु. ४७ लाख १० हजार र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ४ लाख समेत रु. ७२ लाख ६० हजार बिनियोजन गरेको छु।
  5. पर्यटन तथा संस्कृती प्रवर्द्धन तर्फ रु. २२ लाख ५० हजार र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ३८ लाख समेत रु. ६० लाख ५० हजार बिनियोजन गरेको छु।लघु उद्यम विकास तर्फ संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत रु. २९ लाख बिनियोजन गरेको छु।
  6. सहकारी तथा रोजगार प्रवर्द्धन तर्फ रु. ९ लाख ९० हजार रसंघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ४८ लाख समेत रु. ५७ लाख ९० हजार बिनियोजन गरेको छु।
  7. राजश्व व्यवस्थापन तर्फ रु. ११ लाख ५० हजार र उपभोक्ता हित संरक्षण तर्फ रु. २० लाख १० हजार बिनियोजन गरेको छु।
  8. आर्थिक विकास अन्त्यरगत कृषि विकास, पशु सेवा, पर्यटन तथा संस्कृती प्रवर्द्धन, लघु उद्यम विकास, सहकारी तथा रोजगार प्रवर्द्धन, राजश्व प्रवर्द्धन र उपभोक्ता हित संरक्षण गरी रु. ४ करोड ६० लाख ४ हजार अर्थात कुल बजेटको २.१० प्रतिशत बिनियोजन गरेको छु।

पूर्वाधार विकास अन्त्यरगत

  1. सडक पिच, ग्राभेल तथा बाटो स्तरोन्नती तर्फ रू४६ करोड १०लाख बिनियोजन गरेकोछु।
  2. भवन निर्माण तथा मर्मत तर्फ रु. ५ करोड ५० लाख, सिंचाई तथा खानेपानी तर्फ रु. ४ करोड ६५ लाख ,पुल तथा कल्भर्ट निर्माण तर्फ रु. २ करोड ४० लाख, पर्यटन पूर्वाधार तर्फ रु. १ करोड ३४ लाख , विद्युत विस्तार तथा पोल खरिद तर्फ रू. ९३ लाख तथा अन्य पूर्वाधार तर्फ रू. ८ करोड १९ लाख १० हजार बिनियोजन गरेको छु।
  3. पूर्वाधार विकास तर्फ आन्तरिक बजेट रु. ६९ करोड ११ लाख १० हजार, संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ६ करोड ३० लाख रप्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ८ करोड समेत रु ८३ करोड ४१ लाख १० हजार अर्थात कुल बजेटको ३७.८६ प्रतिशत बिनियोजन गरेको छु।

सरसफाई, वातावरण तथा विपद् व्यवस्थापन अन्त्यरगत

  1. सार्वजनिक चौपाया व्यवस्थापनमा रु. १३ लाख ५० हजार र पूर्ण सरसफाई अभियान तर्फ रु. ८४ लाख तथा संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ८ लाख समेत रु. १ करोड ५ लाख ५० हजार बिनियोजन गरेको छु।
  2. वातावरण तथा विपद् व्यवस्थापन तर्फ खरको छानो विस्थापन कार्यक्रम तर्फ रु २ करोड ५० लाख, विपद् व्यवस्थापन कोषमा रु. १ करोड,जोखिमयुक्त जलाशय तारबार, भूस्खलन रोक्न तटबन्ध तथा तारजाली, क्षती ग्रस्त भौतिक संरचनाको मर्मत संभार, विपद् खोज उद्धार तालिम, आपतकालिन कार्य संचालन केन्द्र स्थापना, हरियाली प्रवर्द्धन कार्यक्रमका लागि रु. १ करोड ४८ लाख २५ हजार र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. १ करोड ५० लाख समेत रू.६ करोड ४८ लाख २५ हजार बिनियोजन गरेको छु।
  3. सरसफाई , वातावरण तथा विपद् व्यवस्थापन तर्फ रू.७ करोड ५३ लाख ७५ हजार अर्थात कुल बजेटको ३.४२ प्रतिशत बिनियोजन गरेको छु।

सार्वजनिक सेवा, सुशासन,संस्थागत विकास तथा अन्त्यर सम्बन्धित क्षेत्रअन्त्यरगत

  1. सार्वजनिक सेवामा सूचना प्रविधिको उच्चतम प्रयोग, स्थानीय पत्रकारहरुको क्षमता विकास कार्यक्रम, सार्वजनिक जवाफदेहिता सम्बन्धी कार्यक्रम, रेडियो, टेलिभिजन कार्यक्रम, पुस्तक, बुकलेट, ब्रोसर प्रकाशन, वृतचित्र निर्माण, नगर सूचना केन्द्र व्यवस्थापन लगायत सूचना तथा संचार प्रविधि संग सम्बन्धित कार्यक्रमका लागि रु. ५३ लाख २५ हजार र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रू १ लाख समेत रु. ५४ लाख २५ हजार बिनियोजन गरेको छु।
  2. सार्वजनिक खरिद सम्बन्धी नियमावली निर्माण, कर्मचारीको लागि क्षमता अभिवृद्धि तालिम र सामान्य प्रशासन संग सम्बन्धित विविध कार्यक्रमका लागि रु. ४२ लाख २५ हजार बिनियोजन गरेको छु।
  3. पिडित, असहाय, निःशुल्क कानूनी सहायता कोष, प्रत्येक वडामा मेलमिलापकेन्द्र गठन, मेलमिलापकर्तालाई तालिम लगायत कार्यक्रमका लागि कानूनी ममिला तर्फ रु १८ लाख बिनियोजन गरेको छु।
  4. पंजिकरण तथा सामजिक सुरक्षा तर्फ रु. ९ लाख ५० हजार र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. २४ लाख समेत रू. ३३ लाख ५० हजार बिनियोजन गरेको छु।
  5. भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको कार्यक्रम संचालनार्थ भूमि व्यवस्था तर्फ रु. १५ लाख बिनियोजन गरेको छु।
  6. बेरोजगार सूचीमा सूचिकृत भएका श्रमिकहरुलाई न्यूनतम १०० दिनको रोजागारी ग्यारेन्टी गर्न प्रधानमंत्री रोजगार कार्यक्रम तर्फ रु. १० लाख र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ३६ लाख समेत रु.४६ लाख बिनियोजन गरेको छु।
  7. सुरक्षित आप्रवासन कार्यक्रम (सामी परियोजना)तर्फ रु. १० लाख र संघ सरकारबाट हस्तान्तरित कार्यक्रम अन्त्यरगत बिनियोजित बजेट रु. ६१ लाख समेत रु.७१ लाख बिनियोजन गरेको छु।
  8. प्रदेश सरकारबाट हस्तान्तरित मुख्यमंत्री रोजगार कार्यक्रम तर्फ रु ८० लाख बिनियोजन गरेको छु।
  9. सार्वजनिक सेवा, सुशासन, संस्थागत विकास तथा अन्त्यर सम्बन्धित क्षेत्र तर्फ रू.३ करोड ६० लाख अर्थात कुल बजेटको १.६३ प्रतिशत बजेट बिनियोजन गरेको छु।
  10. संघ तथा प्रदेश सरकारको सहलगानीमा कार्यान्वयन गरिने समपुरक आयोजनाका लागि ४ करोड ४ लाख बिनियोजन गरेको छु।
  11. वडा कार्यालय (१९ वटै वडा)को पूँजिगत खर्च तर्फ रु. ११ करोड ९७ लाख बिनियोजन गरेको छु।वडा कार्यालय( १९ वटै वडा)को कार्यक्रम खर्च एवं कार्यालय सञ्चालन खर्व तर्फ रु. ७ करोड ३ लाख बिनियोजन गरेको छु।
  12. दैनिक कार्य संचालन, तलब भत्ता लगयात आन्तरिक व्यवस्थापन तर्फ रु. ३२ करोड ४१ लाख २५ हजार बिनियोजन गरेको छु।

नगरसभाका अध्यक्ष महोदय,

अब म माथीका क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्न स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  1. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. २ अर्ब २० करोड २८ लाख ७८ हजार बिनियोजन गरेको छु।कुल बिनियोजित रकम मध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु. ६९ करोड ५ लाख मध्ये रु. ९ करोड ५१ लाख अर्थात १३.७७ प्रतिशत पूँजिगत खर्च र रू. ५९ करोड ५४ लाख अर्थात ८६.२३ प्रतिशत चालु खर्च रहेको छ।त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु. ८ करोड ९० लाख ४४ हजार मध्ये रु. ८ करोड अर्थात ८९.८४ प्रतिशत पूँजिगत खर्च र रु. ९० लाख ४४ हजार अर्थात १०.१६ प्रतिशत चालु खर्च रहेको छ।संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, वित्तिय समानिकरण र राजश्व बाँडफाँड तथा उपमहानगरपालिककाको आन्तरिक आय (घर जग्गा रजिष्ट्रेशन समेत)बाट बिनियोजन गरिएको बजेट रु. १ अर्ब ४२ करोड ३३ लाख ३४ हजार मध्ये रु. ५२ करोड ५८ लाख ३९ हजार अर्थात ३६.९४ प्रतिशत चालु खर्च र रू ८९ करोड ७४ लाख ९५ हजार अर्थात ६३.०६ प्रतिशत पूँजिगत खर्च रहेको छ।
  2. कुल बजेट रू. २ अर्ब २० करोड २८ लाख ७८ हजार मध्ये रु. १ अर्ब १३ करोड २ लाख ८३ हजार अर्थात ५१.३१ प्रतिशत चालु खर्च र रू. १ अर्ब ७ करोड २५ लाख ९५ हजार अर्थात ४८.६९ प्रतिशत पूँजिगत खर्च रहेको छ।
  3. आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक आय(घर जग्गा रजिष्ट्रेसन समेत)बाट रु. २५ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट रू. ३४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट रू. २१ करोड २६ लाख ९८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट रू. ५ लाख, संघीय सशर्त अनुदान बाट रु. ६४ करोड ४८ लाख, संघीय समपुरक अनुदानबाट रु. १ करोड ४ लाख र संघीय बिशेष अनुदानबाट रु. ३ करोड ५३ लाख व्यहोरिने छ।त्यस्तै प्रदेश समानिकरण अनुदानबाट रु. १ करोड ६७ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट रु. ४ करोड १८ लाख ४५ हजार, प्रदेश सशर्त अनुदानबाट रू. ५ करोड १० लाख ४४ हजार, प्रदेश समपुरक अनुदानबाट रु. ३ करोड र प्रदेश बिशेष अनुदानबाट रु. ८० लाखव्यहोरिने छ ।यसबाट नपुग हुने रकम रु. ५५ करोड ६५ लाख ८७ हजार गत आर्थिक वर्षको बैंक बाँकीबाट व्यहोरिने छ।
  4. यस उपमहानगरपालिकालाई नगरसभा पश्चात संघ तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिब संग बिशेश्वर कार्यक्रम, प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम लगायतका अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणाली मार्फत भुक्तानी हुने भएकोले आगामी आर्थिक वर्ष २०७८।०७९को बजेट प्रक्षेपणमा समावेश नगरिएको व्यहोरा अवगत गराउन चाहन्छु।

नगरसभाका अध्यक्ष ज्यू,

  1. आर्थिक वर्ष २०७८/०७९को सेवा र कार्यका लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्न बनेको बिनियोजन बिधेयक २०७८ र अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ बिधेयक २०७८ सम्मानित सभा समक्ष पेश गरेको छु।
  2. प्रस्तुत बजेटको कार्यान्वयनबाट नगरवासीका आधारभूत आवश्यकताहरु परिपूर्ति भई जीवनस्तरमा गुणात्मक सुधार हुदै जाने, कोभिड रोकथाम, नियन्त्रण र उपचारमा सफलता हासिल गर्न सकिने, नगरमा उपलब्ध स्रोत साधनको अत्यूत्तम उपयोगबाट सबै क्षेत्रको दिगो एवं सन्तुलित विकास भई आर्थिक उन्नतीमा टेवा पुग्ने, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता अभिवृद्धि हुने र बञ्चितिमा परेका वर्ग, क्षेत्र, समुदाय, समूहहरुको विकासमा मूल प्रवाहीकरण भई समावेशिताको प्रवर्द्धन मार्फत स्थानीय लोकतन्त्र सुदृढ हुने बिश्वास लिएको छु।
  3. कोभिड-१९को यस बिषम परिस्थितीमा बजेटको सफल कार्यान्वयन पक्ष आफैमा चुनौतीपूर्ण छ।लामो समयको लकडाउन, बन्दाबन्दीका कारण आर्थिक गतिबिधिहरु ठप्प प्राय छन।चालु आर्थिक वर्षको ११(एघार) महिना सम्म अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा राजश्व संकलनको बृद्धि दर ६.२ प्रतिशत ऋणात्मक रहेकोतथा लकडाउनको अवधी लम्बि रहेको र आर्थिक गतिविधिमा सुस्तता आएको कारण चालु आर्थिक वर्षको अन्त्य सम्म राजश्व संकलनमा अपेक्षित उपलब्धी हासिल गर्न नसकिने हो कि? भन्ने द्बिविधा कायमै छ।यस्तै अवस्था लामो समय सम्म कायम रहदै गएमा हामी सामु आइ पर्ने चुनौती र यसले पार्ने प्रभावको सामना हामी सबै मिलेर गर्नु पर्ने नै हुन्छ।सबैको साथ, सहयोग र सहकार्यबाट नै आइ पर्ने चुनौतीहरुको सामना गर्दै गन्तब्यमा पुग्न सकिने कुरामा बिश्वस्त छु।बजेट कार्यान्वयनमा संघ तथा प्रदेश सरकार, नगरवासी, आमाबुबा, दिदीबहिनी, दाजुभाई, व्यवसायिक संघ संस्था, राजनीतिक दल, नागरिक समाज,संचार जगत लगायत सबै तह र तप्काबाट सहयोग पुग्ने बिश्वास लिएको छु।
  4. अन्त्यमा बजेट तर्जुमा गर्ने क्रममा मार्गनिर्देश गर्नु हुने नगर प्रमुख ज्यू,विषयगत समितिका संयोजक एवं सदस्य ज्यूहरु, वडा अध्यक्ष ज्यूहरु,कार्यापालिका सदस्य ज्यूहरु, नागरिक समाज, पेशाबिद् बुद्धिजिवि, संचार जगत लगायत सम्पूर्ण नगरवासीहरुमा धन्यबाद ज्ञापन गर्दै आभार प्रकट गर्दछु।