१३ बैशाख २०८१, बिहीबार

पहिरोले गाउँनै बग्न थालेपछि स्थानीयले घर छोडे

Pairo myagdi 2

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख स्वभिताका ज्ञान बहादुर पुनको घर मुनीको जमिन धाँजा फाटेर चिराचिरा परेको छ । भिरालो पाखोमा अवस्थित पुनको घरको आगन नै चर्किएपछि घर बगाउने डरले सुरक्षित ठाउँमा गए । स्वभिता र धस्केखरे गाउँमा माथिबाट र तलबाट दर्जनौ ठाउँमा जमिनमा धाँजा फाँटेको छ । ठूलो पानी पर्दा कुनैपनि बेला मानवीय क्षती हुने अवस्था देखिएपछि स्थानीय जनप्रतिनिधिको पहलमा राहत वितरण गरी जोखिममा रहेका १९ घर परिवारलाई स्थानान्तरण गरियो ।

गएको असार १ गतेदेखि लगातार भइरहेको अविरल वर्षातका कारण मालिका गाउँपालिका–२, बेली र खवाङ गाउँका बासिन्दा विस्थापित छन् । दुबै गाउँबाट करिब ३० घरपरिवारले बासस्थान छोडेर आफन्त, छिमेकी र सार्वजनिकस्थलमा आश्रय लिन बाध्य भएको मालिका–२ का वडा अध्यक्ष नरबहादुर पुनले बताए । ‘बस्तीमा घरआँगन, कोठा चिरा परेको छ, पहिरोको मुखैमा रहेका घरधुरीले रात कटाउन सुरक्षित स्थानमा लगेका छौ, विस्थापितको संख्या बर्खाभरी बढ्ने देखिन्छ’ अध्यक्ष पुनले भने । भारी वर्षाले जिल्लामा प्रमुख, सहायक र गाउँका कच्ची सडक ठाउँठाउँमा बगाएका कारण सवारी आवागमन ठप्प भएको छ ।

विस्थापितको अवस्था हाल समान्य भएपनि लामो समयसम्म घरबास छोडेर हिड्नुपरेमा आवश्यक ब्यवस्था गर्नुपर्ने देखिएको छ । पहिरोले सबैभन्दा जोखिममा रहेको बस्तीका बासिन्दालाई जोखिम नमोल्न समेत स्थानीयबासीलाई जनप्रतिनिधिले घरदैलोमै पुगेर अनुरोध गर्ने गरेका छन् । बाढीपहिरोले असर गरेको क्षेत्रमा खेतीयोग्य जमीनहरु समेत बगेको छ ।

जिल्ला प्रशासन कार्यालयले बाढीपहिराले क्षति भएपनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ । चारजना घाईते भएकोमा दुई महिलालाई हेलिकप्टरबाट उद्धार र एकलाई सडकमार्गहुँदै थप उपचारका लागि पोखरा पठाइएको छ । जिल्लाभर १ सय ११ घरधुरीका ४ सय ३६ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा देखिए पनि करिब डेढ सयको हाराहारीमा रहेको स्थानीय तहले जनाएका छन् ।