१४ बैशाख २०८१, शुक्रबार

भूमिगत पहिराले फगाममा उठीवास

landslide

अन्नपूर्ण गाउँपालिका –३ फगामकी ६७ वर्षीया लालमती थापा दुई सातादेखि अस्थायी टहरामा बस्दै हुनुहुन्छ । गाउँदेखि तलबाट भूमिगत पहिराले घर चिरा पर्ने र जमीन भासिने समस्या बढेपछि थापाको परिवार गाउँ छेउको पाखामा त्रिपालको टहरा बनाएर बसेका छन् । थापासँगै फगाम गाउँका १७ घरपरिवारको पहिराले उठीवास लगाइसकेको छ ।

साउनदेखि नै गाउँमा स्थानीयवासीको उठीवास शुरु भएको थियो । “घरमा बस्न सक्ने अवस्था छैन, खेती गरेको जमीन सबै बग्न थालेको छ, रातमा पानी प¥यो भने बस्ने ठाउँसम्मै चिसो आउँछ, अब कहाँ गएर ज्यान जोगाउने हो सोच्नै सकेका छैनौँ”, थापाले भन्नुभयो ।

यहाँका ७४ घरधुरीको बसोबास रहेको यो गाउँ पूर्ण रुपमा पहिराको उच्च जोखिममा परेको स्थानीयवासी दुर्गादत्त सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार १७ घर पूर्ण रुपमा विस्थापित भइसकेका छन् । पहिराका कारण थप नौ घर उच्च जोखिममा र ३८ घरमा सामान्य क्षति पु¥याएको सुवेदीले बताउनुभयो ।

कालीगण्डकी नदीको कटान र बेनी–जोमसोम सडकखण्डका कारण चलेको भूमिगत पहिराले नदीको किनारदेखि बस्तीदेखि माथिको भिरसम्मकै अधिकांश जमीन धाँजा परेर चिरिएको छ भने घरहरु चर्किएर भत्कने अवस्थामा पुगेका छन् । घर भत्कने अवस्थामा पुगेपछि नजीकका स्थानमा आश्रय लिनुपर्ने अवस्था आएको बेनी नगरपालिकाको वडा सदस्यसमेत रहेकी स्थानीयवासी योमायाँ पाइजाले जानकारी दिनुभयो ।

“नदीले हरेक वर्ष कटान गरिरहेको छ, सडकले पहिरो नियन्त्रण गर्न कुनै पूर्वाधार बनाएको छैन, अहिले त गाउँ नै उठीवास हुने अवस्था आयो”, उहाँले भन्नुभयो । यस गाउँमा विगत एक दशक अघिको पहिराले छ परिवार विस्थापित भएका थिए ।

विस्थापितहरु अस्थायी आश्रय खोज्दै

पहिराले विस्थापित भएकामध्ये केहीले छिमेकी गाउँ सुवामा रहेको विद्यालयमा आश्रय लिएका छन् । भमायाँ राम्जाली, तिलक थापा, बिलमन थापा, टुकमाया थापा, ओमप्रसाद थापा र कमली मिजार गरी छ घरपरिवार सुवा आधारभूत विद्यालयमा आश्रय लिएर बसेको विद्यालयका शिक्षकसमेत रहेका एकजना पीडित तिलक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार नरबहादुर थापा, ओममाया थापा र ठकबहादुर गर्वुजाको परिवार गाउँकै पैयुँपाटामा त्रिपालको छाप्रो बनाएर बसेका छन् । नरमान थापाको परिवार सुवामा, सन्तु बरुवाल र राजु विक छिमेकी वडा नारच्याङको पटारमा र रीता थापाको परिवार गम्फुमा आफन्तको घरमा आश्रय लिन पुगेका छन् । कर्णबहादुर नेपाली र देउमाया मिजारको परिवार गुँइठेमा आश्रय लिन गएका छन् ।

वडाध्यक्ष नरसिंहबहादुर पुर्जाका अनुसार फगाम गाउँ पूर्ण रुपमा पहिराको चपेटामा छ । बस्तीदेखि तलबाट भूमिगत रुपमा चलेको पहिरो गाउँको शिरमा रहेको भिरसम्मै पुगेको र जमीन फाट्ने र घर चिरिने समस्या बढिरहेकाले फगामलाई स्थानान्तरणका लागि आवश्यक तयारी शुरु भएको उहाँले जानकारी दिनुभयो ।

नेकपाद्वारा पहिरो पीडितलाई राहत वितरण

फगामका पहिरो पीडितलाई नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले राहत सहयोग गरेको छ । कालीगण्डकी नदीको कटान र बेनी–जोमसोम कोरला सडकका कारण भूमिगत पहिराले उच्च जोखिममा परेका २२ घरपरिवारलाई नेकपाले राहत वितरण गरेको हो । जिल्लामा आइपरेको बाढी र पहिराबाट पीडित भएकाका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुबाट सहयोग सङ्कलन गरी फगामका २२ घरपरिवारलाई रु चार हजारका दरले रु ८८ हजार राहत उपलब्ध गराइएको नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नेकपा म्याग्दीका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, पार्टी सचिव श्रेष्ठ, प्रदेशसभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा अन्नपूर्ण गाउँपालिका समितिका अध्यक्ष खड्ग गिरी लगायतले स्थानीय वडाका जनप्रतिनिधको रोहवरमा पहिरो पीडितलाई राहत वितरण गर्नुभएको थियो ।

पहिरो पीडितको बस्ती स्थानान्तरणको पहल

यस वर्ष बाढी पहिराले फगामसहित अन्नपूर्णमा ठूलो क्षति पु¥याएको छ । बाढी र पहिराले दुई जनाको ज्यान जानाका साथै १३५ घर पूर्ण रुपमा विस्थापित भएका छन् । बाढी र पहिराले वडा नं १ दोबामा १० घर, २ तातोपानीमा २१ घर, ३ दानामा ५५ घर, ४ नारच्याङमा १२ घर, ५ शिखमा पाँच घर, ६ घारामा नौ घर र ७ हिस्तानमा २३ घरपरिवार विस्थापित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिनुभयो ।

बाढी पीडितलाई तत्कालका लागि राहतसँगै दीर्घकालीन रुपमा आवासको व्यवस्थापनका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो । बाढी र पहिराको चपेटामा परेका अधिकांश स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिएको भए पनि उपयुक्त जग्गाको बन्दोबस्त चुनौतीका रुपमा देखिएको छ ।

सङ्घ र प्रदेशमा पहल गरिने

अन्नपूर्ण क्षेत्रमा गएको पहिराको स्थलगत अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बस्ती नै पहिराको उच्च जोखिममा रहेकाले उनीहरुलाई पुनस्र्थापनाका लागि स्थानीय वडा र पालिकाले जग्गा व्यवस्थापन गरेर सङ्घीय सरकारमार्फत आवास पुनर्निर्माणमा पहल गर्ने बताउनुभयो । “यहाँको अधिकांश जमीन चिरा परेको रहेछ, धेरैले घर छाडेर अन्यत्र जानुभएको पाइयो, यो वर्ष सरकारले चार सय वटा जोखिमपूर्ण बस्तीलाई सार्ने योजना अघि सारेको छ, त्यस कार्यक्रममा फगामलाई समेट्न अधिक प्रयास रहन्छ”, थापाले भन्नुभयो । त्यसैगरी प्रदेशसभा सदस्य विनोद केसी र जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले पहिराको जोखिममा रात बिताउँदै आएका स्थानीयवासीलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गर्दै बस्तीलाई सुरक्षित स्थानमा सार्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।