१९ बैशाख २०८१, बुधबार

सरकारलाई असफल बनाउन केही समूह लागेका छन् – प्रधानमन्त्री ओली

pm kp oli
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दामा नै अल्झाउने जालझेल भइरहेको बताउनुभएको छ । कोभिडसँग लामो समय जुध्नु परेको अवस्था रहेको जनाउँदै यस्तो अवस्थामा पनि विकास निर्माणका कामहरु अघि बढाएको उहाँको भनाइ थियो ।

गौरादह नगरपालिका वडा नं. ४ डोरामारी माध्यमिक विद्यालय भवनको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । यसबीचमा राजनीतिक असहयोग, खुट्टा तान्ने र देशमा विकास एवं उन्नती देख्न नचाहने प्रवृतिले काम गर्न नदिने परिस्थिति सिर्जना गरिएको छ, ओलीले भन्नुभयो ।

कहिले के नाममा भाँजो हाल्ने त कहिले के नाममा भाँजो हाँल्ने कार्य भइरहेको छ, ओलीले जनाउनु भयो । देशलाई प्रतिगमन तर्फ लैजान खोज्ने, देशलाई अग्रगतिको बाटोमा जान दिन नखोज्ने, लोकतान्त्रिक प्रकृयामा जान नदिने, सरकारलाई काम गर्न नदिने चौतर्फी प्रयासहरु भइरहेको छ, ओलीले भन्नुभयो ।

यति हुँदाहुदै पनि सरकार जनताको अपेक्षा अनुसार देश विकासमा दृढ संकल्पित भएर लागेको छ, ओलीले जनाउनुभयो । अहिलेको सरकारले संविधाको रक्षा गरिछाड्ने, लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने पनि उहाँले बताउनुभयो । नेपाली जनताले संघर्ष गरेर ल्याएको प्रणालीलाई असफल बनाउने कार्य हुन नदिने पनि ओलीको भनाइ छ ।

जनतामा जाने र जनताबाट ताजा जनादेश लिने वातवरण सरकारले बनाउन लागेको पनि उहाँले स्पष्ट पार्नु भयो । सरकारलाई काम गर्न नदिने, बैकल्पिक सरकार दिन नसक्ने अवस्था रहेको सबैलाई थाहा भएको बिषय हो, ओलीले भन्नुभयो ।

उहाँले झापा सहित देशभर विकास निर्माणका कामहरु तिब्र रुपमा अघि बढेको पनि बताउनु भयो । अहिलेको कोरोनाको बिषय परिस्थितिका कारण चुनौती रहेको भन्दै यो संग सामना गर्दै अघि बढ्ने उहाँको भनाई थियो । सबै नागरिकलाई खोपको शुनिश्चित हुने गरी काम भइरहेको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट भवनको शिलान्यास भएको बताएपछि प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भौतिक उपस्थितिमा निर्माणस्थलमा र्इंटा राख्नु भएको थियो । उहाँले शैक्षिक क्षेत्रको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकार एक अर्काका परिपुरक भएको बताउनुभयो ।