७ बैशाख २०८१, शुक्रबार

एमालेले दिएको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलायो

Supreme Court 43KnAVGEAY

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन निवेदन (भ्याकेट) मा सर्वोच्च अदालतले दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयाँलको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गर्दै सो आदेश दिएको हो ।

नेकपा एमालेले प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापामाथिको कारबाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो ।

सो आदेश खारेज गर्न माग गर्दै एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पुनरावलोकन निवेदन दिनु भएको थियो ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले भने केन्द्रीय कमिटीले निर्णय गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको र सो समिति नै एमालेको आधिकारिक कार्यकारी कमिटी भएको जिकिर गर्नुहुँदै कारबाहीलाई मान्यता दिन माग गर्नु भएको छ ।