६ बैशाख २०८१, बिहीबार

नगर प्रमुखको प्रतिबद्धतापछि अस्मिताको परिवार शव बुझ्न सहमत

asmita death

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका-८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको शब आफन्तले बुझेका छन् । परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले अस्मिताको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउने लगायतका विषयमा प्रतिबद्धता जनाएपछि उनको परिवार शव बुझ्न सहमत भएको हो ।

सोमबार ५ बुँदे माग राख्दै नगरपालिका घेराउ गरेका पीडित पक्षसँग भएको छलफलका आधारमा नगर प्रमुखले हत्यामा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेपछि शव बुझ्न पीडित परिवार तयार भएको हो ।पीडित परिवारलाई क्षतिपूर्ति दिने र अस्मिताको ठाउँमा परिवारको अर्को सदस्यलाई रोजगारी दिने सहमति नगर प्रमुख साउदले बताए । धामीको अत्या भएको तीन दिन पछि सोमबार जोगबुढा अस्पतालमा शव परिक्षण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।जोगबुढा अस्पतालका चिकित्सकले शव परीक्षण रिपोर्ट प्रहरीलाई बुझाइ नसकेको भए पनि अस्मिताको हत्या भएको पुष्टि गर्दै उनको बलात्कारपछि हत्या गरिएको हो कि होइन भन्ने कुरा प्रष्ट पार्न डीएनए परीक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

सोहीअनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं पठाउने तयारी गरेको हो । असार २ गते स्वास्थ्य सामग्री र्पुयाउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामी शनिबार स्थानीय हटवानी सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।