७ बैशाख २०८१, शुक्रबार

काँग्रेस महाधिवेशनको तरङ्गले नयाँ रूप: मतदाता टुङ्गो नलाग्दै नेतृत्वको सक्रियता

nepali congress
फाइल फोटो

नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको विवाद व्यवस्थापन नहुँदै प्रतिस्पर्धाको आन्तरिक गृहकार्यमा तीव्रता आउन थालेको छ । सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि सभापति बन्न आफू निकटका केन्द्रीय सदस्यसँग पहिलो चरणको छलफल पूरा गरेसँगै अरू नेताहरूबीच परामर्शले गति लिएको छ । मतदाता तयार नहुँदै थालिएको गृहकार्यले असहज परिस्थिति निम्तने खतरासमेत रहेको कतिपयको भनाइ छ ।
आफूलाई ‘वेटिङ’ सभापतिका रूपमा दाबी गर्दै आउनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई लक्षित गरी अनौपचारिक छलफल अगाडि बढाउनुभएको छ । त्यसै क्रममा पार्टीका संस्थापक बीपी कोइरालाका सुपुत्र शशाङ्क कोइराला, सर्वोच्च नेता गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंह र गान्धीवादी नेता महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधि सोमबार एक ठाउँ बसेर खानपान गरेपछि महाधिवेशनको तरङ्गले नयाँ रूप लिएको छ ।

सभापति देउवाकै अग्रसरता
कोरोना महामारीले पछाडि धकेलिँदै आउँदो भदौ १६–१९ मा पार्टीको १४औँ महाधिवेशन हुँदै छ । यो संशोधित कार्यतालिका भर्खरै पार्टी केन्द्रीय कार्यसमितिले तय गरेको हो । महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएलगत्तै सभापति देउवाले आफूलाई अर्को कार्यकालका लागि पनि सभापति बन्न सहयोग गर्न केन्द्रीय सदस्यलाई आग्रह गरिरहनुभएको छ । यस क्रममा सोमबार देउवाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्नुभयो ।
सभापति देउवाले आफू सभापतिमा दोहोरिन चाहेको भन्नुहुँदै सहयोगका लागि आग्रह गर्नुभएको केन्द्रीय सदस्य वीरबहादुर बलायरले जानकारी दिनुभयो । त्यस छलफलमा उपसभापति विमलेन्द्र निधिले सभापतिमा लड्न चाहनुभएको विषयमा केन्द्रीय सदस्यले सभापति देउवासँग जिज्ञासा राखेका थिए । जवाफमा देउवाले निधिले उठ्न चाहेको भन्दै रोक्न नसक्ने जवाफ दिनुभएको बलायरले जानकारी दिनुभयो । प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग छलफल गरिसक्नुभएका सभापति देउवाले अब पार्टीका पूर्वपदाधिकारी, पदाधिकारीलगायतसँग उम्मेदवारीका विषयमा परामर्श गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

‘वेटिङ सभापति’को सक्रियता
पार्टीको १३औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी नेतृत्वमा आउन आफ्नो सक्रियता बढाउनुभएको छ । हाल गृहजिल्ला तनहुँमा रहनुभएका नेता पौडेलले आफूलाई ‘वेटिङ सभापति’का रूपमा प्रस्तुत गरेर महाधिवेशनको तयारीमा जुट्नुभएको उहाँ निकट काँग्रेसका नेता तथा काभ्रेका जिल्ला सभापति मधु आचार्यले जानकारी दिनुभयो ।

पौडेल गत महाधिवेशनमा देउवासँग दोस्रो चरणको निर्वाचनबाट पराजित हुनुभएको थियो । पहिलो चरणको निर्वाचनमा देउवा, पौडेल र नेता कृष्णप्रसाद सिटौलामध्ये कसैले पनि ५१ प्रतिशत मत नपाएपछि बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा निर्वाचन गरिएको थियो । पौडेलले औपचारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधिलगायतसँग निरन्तर छलफल गरिरहनुभएको जानकारी नेता आचार्यले दिनुभयो ।

तीन नेताको ‘लन्च मिटिङ’
सोमबार नै पार्टीका तीन नेताबीच लन्च मिटिङ सम्पन्न भएको छ । सभापतिमा उम्मेदवारीको दाबी गर्नुभएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र पूर्वउपसभापति प्रकाशमान सिंहबीच निधि निवासमा भेटघाट भएको हो ।
त्यस भेटमा पार्टीको आसन्न महाधिवेशन तयारी तथा उम्मेदवारीका विषयमा छलफल भएको उपसभापति निधिको सचिवालयले जनाएको छ । महाधिवेशनमा आफ्नो दाबीका विषयमा हालसम्म महामन्त्री डा. कोइराला र नेता सिंहले कुनै घोषणा गर्नुभएको छैन । निधिले भने सभापतिको उम्मेदवारी घोषणा नै गरिसक्नुभएको छ ।

सदस्यता छानबिन अन्तिम चरणमा
नेताहरूलाई आफ्नो नेतृत्वको हतारो लागे पनि महाधिवेशनका लागि कामको पहाडै बाँकी छ । पार्टीमा क्रियाशील सदस्यता विवादको किनारा लगाउन आफूहरू दिनरात जुटेको सदस्यता छानबिन समितिका सदस्य एवं केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिनुभयो । समितिले आफ्नो जिम्मेवारी पूरा गरेर छिट्टै सभापति देउवालाई अन्तिम प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले गरिसकेको छ । पार्टी विधान र संवैधानिक हिसाबले पनि काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौभित्र सम्पन्न गर्नुपर्ने बाध्यता छ ।