१४ बैशाख २०८१, शुक्रबार

लगातारको वर्षाले भौतिक संरचनादेखि पशुवस्तमा नोक्सानी

1337707346Galkot BadiPahiro 1024x682 1

सिमकोट, पाँच दिनदेखि लगातार परेको अविरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्षति पुग्दा लाखौँको नोक्सान भएको छ । वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्षति पुगेको छ भने १६ वटा घरमा आंशिक क्षति पु¥याएको जानकारी आएको छ ।

वर्षाले खार्पुनाथ गाउँपालिका–१ घण्टवीर बुढाको तीनतले पाँचकोठे घर र खार्पुनाथ–१ देउखुरी गाउँका लोकेश जैशीको माथिबाट आएको पहिराले घरमा पूर्ण क्षति गरेको छ । पहिरोले मानवीय क्षति भने नभएको बताइएको छ । त्यस्तै सिमकोट गाउँपालिका–२ ठेहेगाउँका वीरजीत सुनारको एकतले जस्ताले छाएको तीनकोठे घर र वडा नं ३ वरगाउँका याङसु लामाको तीनतले छकोठे कच्ची घरमा पूर्ण क्षति भएको बताइएको छ । यस्तै वर्षाले सर्केगाड गाउँपालिका–७ रोडिकोड गाउँका कलम सार्कीको तीनतले सातकोठे घरमा पूर्ण क्षति गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । जिल्लाभर २१ वटा घरमा आंशिकदेखि पूर्ण क्षतिको खबर आएको भए पनि कति क्षति गरेको भन्ने जानकारी नआएको उहाँले बताउनुभयो ।

जिल्लाको खार्पुनाथ, सिमकोट र सर्केगाड गाउँपालिकामा लगातारको वर्षाले बढी क्षति पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यस्तै हिल्दुम जाने बाटोमा रहेको सिमकोट तल्लो गाउँमा कुला रावतसहित गरी चार जनाको घरमा जोखिम पुगेको छ । घर नजिकै बाटो भएकाले बाटो मुनिबाट माटो खनिएकाले घरमा जोखिम बढेको बताइएको छ । यसैगरी खार्पुनाथ गाउँपालिका–५ दुर्पाको मारघोरमा जाने बाटो वर्षाले पूर्ण भत्काएको जानकारी प्राप्त भएको छ । बाटो भत्किँदा आवतजावतमा समेत समस्या बनाएको दुर्पाका स्थानीयवासी देवी सिंहले बताउनुभयो ।

सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति

यस्तै चार स्थानमा सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति पु¥याएको छ । वर्षाले नाम्खा–१ तारुक खोलामा रहेको फलामको ट्रसब्रिज पुललाई माथिबाट आएको बाढीले पूूर्ण क्षति गरेको छ । सोही वडाको हेप्काखोलामा रहेको काठको पुललाई समेत माथिबाट आएको बाढीले बगाउँदा पूर्णरूपमा क्षति गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

खार्पुनाथ–५ मा रहेको लुमघट्टे खोला लघुजलविद्युत् आयोजनाको एक थान पाइप बगाएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को दुर्पामा रहेको मालिका देवी दूधकुण्ड बाख्रापालन युवा बेरोजगार कृषि समूहको निर्माणाधीन तीनतले भवन भत्किएको बताइएको छ । यस्तै सर्केगाड–७ रोडिकोडमा रहेको ढापार सिँचाइ योजनाको निर्माणाधीन १५० मिटर कुलो भत्किएको छ ।

खर्कमा पशुवस्त मरेर लाखौँको नोक्सानी

जिल्लाको सिमकोटको गोडामौला भन्ने खर्कमा वर्षाले पशुवस्तुमा क्षति पु¥याउनुका साथै पशुवस्तु मर्दा लाखौँको क्षति भएको छ । लगातारको वर्षाले एक जुमा, तीनवटा बाच्छा, चारवटा खसी मरेको लछु बुढाले बताउनुभयो । जिल्लामा जुमाको रु ५० हजारमाथि पर्ने गरेको छ । खसीको रु १५ हजारदेखि रु २५ हजारसम्म पर्ने गरेको हुँदा करिब रु पाँच लाख बराबरको क्षति पुगेको बुढाले बताउनुभयो ।