१३ बैशाख २०८१, बिहीबार

आज गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल विश्वासको मत लिँदै

pokhrel krishna

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै हुनु हुन्छ ।

आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लाग्नु भएको हो । संविधानको धारा १ सय ६८ को ५ बमोजिम नियुक्त मुख्यमन्त्री पोखरेललाई उहाँको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ । संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लाग्नु भएको हो । विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा जानकारी गराइसक्नु भएको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनु भयो ।

उहाँले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । गण्डकी प्रदेशसभामा हाल ५९ सांसद रहेका छन् । प्रदेश प्रमुख सीता पौडेलले जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।