१४ बैशाख २०८१, शुक्रबार

अपडेट: अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीले १५ घर बगायो, ६० घर विस्थापित

badhikhola

लमजुङ, अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीले बन्सारका १५ घर बगाएको छ । दोर्दी ८ बन्सार, हिले दोर्दी किनारका १५ घर बगाएको हो ।

स्थानीय केदार बोहोराका अनुसार दोर्दी ८ बन्सारका आइते दमै, कन्या तामाङ, गङ्गा गुरुङ, अमृता विक, राम विक, मैत गुरुङ, चतुरे भनिने व्यक्ती लगायतको घर बगाएको हो । बाढीकै कारण खोला आसपास बस्दै आएका ६० घर विस्थापित समेत भएका छन् ।

प्रभावित क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी, आरसिडिसीको सहयोगमा नेपाली सेनाले राहत पुर्‍याउने प्रयास गरिरहेको छ । खोलामा पानीको बहाव केही कम भए पनि सडक पहुँच नहुँदा अहिले प्रभावित क्षेत्रमा जान सक्ने अवस्था नभएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

प्रजिअ लुइँटेलका अनुसार सोमबार देखि परेको अविरल वर्षा सँगै आएको बाढीले दोर्दी कोरिडोरमा अधिक क्षति पुर्‍याएको छ भने मर्स्याङ्दी कोरिडोरमा पनि क्षति पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीका कारण बन कार्यालयको शाखा कार्यालय पनि बगाएको छ । अविरल वर्षा सँगै आएको बाढीका कारण मङ्गलवार राती मर्स्याङ्दी गाउँपालिका ८, भुलभुलेमा रहेको सब डिभिजन वन कार्यालयको प्रशासनिक भवन बगाएको हो ।

बन कार्यालय सँगै भुलभुलेमा रहेको लेक बेसी पानी उद्योग र सँगै रहेको एक पर्यटकीय रेष्टुरेण्ट पनि नदिले बगाएको छ । जिल्लामा बाढीका कारण के कति क्षति पुगेको छ सो विषयमा जानकारी आउने क्रममै रहेको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।