१५ चैत्र २०८०, बिहीबार

पर्वतमा ५० घर विस्थापित, ९ घर कालीगण्डकीले बगायो

Kaligandaki River Badhi

विगत चार दिनदेखिको वर्षाले पर्वत जिल्ला नराम्ररी प्रभावित भएको छ । कालीगण्डकी नदी, मोदीखोला, लमाएखोला, मल्याङ्दी लगायतका दर्जनौँ खोला वरपरका बस्तीमा खतरा बढेको प्रशासनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा गरी अहिले सम्म ५० घरपरिवार विस्थापित भएका छन् । सबैभन्दा बढी कालीगण्डकी नदी किनारका बस्तीमा वर्षाको असर देखिएको छ ।

कालीगण्डकी किनारमा रहेको जलजला गाउँपालिका ८ लस्ती र फर्सेका २१ घर परिवार विस्थापित भई नजिकैको विद्यालयमा बस्न थालेको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिनुभयो ।

धाइरिङमा दुई घर विस्थापित भएका छन् भने फलेवास नगरपालिकामा ३ घर, महाशिला गाउँपालिकामा ८ घर विस्थापित भएका छन् । कुश्मा नगरपालिकामा ३ घर विस्थापित भएका छन् । मोदी गाउँपालिकाको देउपुरमा ८, भुकताङलेमा १ र चित्रेमा २ घर विस्थापित भएका छन् ।

यस्तै सेतीबेनी बजारमा ९ घर कालीगण्डकी नदीले बगाएको स्थानीय सन्तोष भट्टराईले जानकारी दिनुभयो । मानवीय क्षति नभए पनि बस्ती, सडक, खेत, बन जङ्गलहरूमा पहिरो नै पहिरो झरेको छ ।

जिल्लामा वर्षा निरन्तर भइरहेको छ । निरन्तर वर्षा भइरहेमा थप जोखिम हुने भएकाले जिल्ला प्रशासन कार्यालयले सेना, प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । उहाँले जिल्लाभर नै जोखिम रहेको बताउँदै सतर्क र सचेत रहन अनुरोध गरिएको बताउनुभयो ।