१२ बैशाख २०८१, बुधबार

मादी सुपर हाइड्रोपावरमा काम गर्ने १७० जना कामदारहरुको उद्दार

madi river1

भारी वर्षाका कारण आएको बाढीका कारण खोलामा फसेका कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरका १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको छ ।

सोमबारदेखि लगातार परेको वर्षाका कारण खोलामा फसेका १६० जना मजदुर तथा १० जना कर्मचारी गरी १७० जना कामदार कर्मचारीलाई उद्धार गरिएको मादी गाउँपालिका – २ का अध्यक्ष एकजङ्ग गुरुङले जानकारी दिनुभयो ।

उद्धार कार्यमा जुट्दै मादी गाउँपालिका – २ का अध्यक्ष एकजङ्ग गुरुङसहितको टोली पोखरा स्थित श्री भगवती दल गण फूलबारी ब्यारेकका नेपाली सेना, स्थानीय युवा क्लब र जनप्रतिनिधिको सहयोगमा बुधवार ५ घण्टा समय लगाएर कलबन्दी खोलाबाट उद्धार गरिएको अध्यक्ष गुरुङले पोखरा न्यूजलाई बताउनुभयो ।

‘हामीले फूलबारी ब्यारेकका नेपाली सेनाका जवान, स्थानीय युवा क्लब, गाउँले र जनप्रतिनिधिको सहयोगमा कलबन्दी खोलामा फसेका १७० जनालाई बुधवार बिहान ६ बजेदेखि ११ बजेसम्मको समयमा सकुशल उद्धार गरेका छौँ ‘, अध्यक्ष गुरुङले भन्नुभयो ।

उद्धार गरिएका सबै जनालाई हिमालयन निम्न माध्यमिक विद्यालयमा राखिएको र उनीहरूलाई ताङ्तिङ आमा समूहले खाजा र खानाको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।

उद्धार गरिएकाहरूलाई हाइड्रोपावरका प्रतिनिधिलाई जिम्मा लगाइने अध्यक्ष गुरुङले बताउनुभयो ।

kalbandirescue
madi river1
madi river2
ekjung