१६ चैत्र २०८०, शुक्रबार

वामदेवको ‘इन्ट्री’सँगै अर्थमन्त्री खतिवडा बाहिरिने पक्का ?

yubraj khatiewada

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेसँगै अर्थमन्त्री युवराज खतिवडा अर्को सातादेखि मन्त्री रहने/नरहने अनिश्चित भएको छ।

नेकपा सचिवालय बैंठकले आगामी २० गतेबाट रिक्त हुन लागेको राष्ट्रिय सभाको मनोनीत सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय गरेको छ । वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएसँगै अर्थमन्त्री युवराज खतिवडा सांसद नबन्ने निश्चित भएको छ ।

उनी राष्ट्रिय सभाको मनोनीत सदस्य नबन्ने निश्चित भएसँगै अर्थमन्त्रीबाट पनि बाहिरिने भएका छन् । अगामी २० गतेबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेका अर्थमन्त्रीलाई निरन्तरता दिने आधार सकिएको छ । सांसद पद नरहेको व्यक्ति मन्त्री नरहने संविधानको व्यवस्थाले २० गतेबाट उनको मन्त्री पद पनि सकिने भएको छ ।

दुई वर्षअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य बनेका खतिवडाको कार्यकाल फागुन २० गते सकिँदैछ। नेकपाले उनको ठाउँमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि उनको भविष्य के हुने भन्ने प्रश्न उठेको हो।

यदि उनलाई मन्त्रीमा निरन्तरता दिनु परेमा पनि पुनः नियुक्त गरेर राष्ट्रपतिबाट सपथ खुवाउनुपर्ने हुन्छ । यस्तै मन्त्री बनेको ६ महिनाभित्र संघीय संसद प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य बन्नुपर्ने हुन्छ । तर, त्यसका लागि कुनै बाटो नरहेकाले अर्थमन्त्री बाहिरिने निश्चित भएको हो ।

‘सुखी नेपाली समृद्ध नेपाल’को नारा दिएका प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा दख्खल राख्ने भएकाले पार्टी राजनीतिभन्दा बाहिर रहेका खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए।

पछिल्लो समयसम्म खतिवडाले प्रधानमन्त्रीको उक्त विश्वासलाई कायम राखेको देखिन्छ। त्यही भएर अघिल्लो साता कमिसन काण्डमा गोकुल बाँस्कोटाले राजीनामा दिएपछि ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि खतिवडालाई नै दिएका छन्।

अब पनि खतिवडालाई मन्त्री राख्ने की हटाउने भन्ने कुरा प्रधानमन्त्री ओलीको इच्छामै भर पर्ने देखिन्छ।