
युरोकपमा आज (मंगलबार) ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ अन्तर्गत खेलमा पोर्चुगल विजयी भएको छ । पोर्चुगलले हंगेरी विरुद्ध ३–० को जित निकालेको छ ।
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि सानदार जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा राफेल गुएर्रइरोले अग्रता बनाएका थिए। त्यसको तीन मिनेट नबित्दै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल थपे। त्यस्तै ९२ औं मिनेटमा रोनाल्डोले नै ब्यक्तिगत दोस्रो गोल थप्दा पोर्चुगलले ३-० को सहज जित निकाल्यो।
पोर्चुगल डिफेन्डिङ च्याम्पियनको हैसियतमा मैदान उत्रदा हंगेरीलाई हराउँदै अघिल्लो चरणको यात्रालाई सहज बनाएको छ।
क्रिस्टियानो रोनाल्डोले युरोकप अन्तर्गत हंगेरीविरुद्धको खेलमा खेलेसँगै नयाँ किर्तिमान बनाएका छन् ।
रोनाल्डोले युरोकपका पाँच संस्करण खेल्ने पहिलो खेलाडी बनेको किर्तिमान बनाएका हुन् । रोनाल्डोले २००४, २००८, २०१२, २०१६ र यस युरोकप खेलेर नयाँ किर्तिमान बनाएका हुन् ।
त्यस्तै हंगेरीविरुद्धको खेलमा गोलमा रोनाल्डोको नाममा अर्को किर्तिमान जोडिएको छ ।
रोनाल्डोले हंगेरीविरुद्ध गोल गर्दा पाँच संस्करणको युरोकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। अघिल्लो संस्करणमा गोल गरेसँगै रोनाल्डो चार संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका थिए।
रोनाल्डो अहिले फ्रान्सका मिचेल प्लाटिनीसँगै युरोकपमा ९-९ गोल गर्ने खेलाडी रहेका छन् । उनले थप २ गोल गरेर उनी युरोकपमा सर्बाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।
युरोकपमा रोनाल्डोले सन् २००४ मा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए ।
रोनाल्डोले करियरको १०६ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलरमा सर्वाधिक गोल कर्ता बन्न तीन गोलले पछिछन्। सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचिमा १०९ गोल गरेका इरानका अलि डेइ छन्।
त्यस्तै छनौट खेललाई समेत जोड्दा रोनाल्डोले ४० गोल गर्दै शिर्ष स्थानमा रहेका छन् भने रोनाल्डो अहिलेसम्म युरोकपका सर्बाधिक २२ खेल खेल्ने खेलाडी पनि बनेका छन् ।
त्यस्तै रोनाल्डोले पेपेको रेकर्डलाई पछि पार्दै पोर्चुगलका लागि गोलगर्ने सबैभन्दा पाका खेलाडी बनेका छन्। उनले आज ३६ वर्ष १३० दिनको उमेरमा गोल गरेका थिए।
रोनाल्डोले मात्र हाेइन पोर्चुगलले पनि खेलमा कीर्तिमान बनाउन सफल भएको छ । पाोर्चुगलले खेलको ८४, ८७ र ९०+२ मिनेटमा गोल गरेको थियो । यूराेमा अन्तिम १० मिनेटमा ३ गोल गर्ने पोर्चुगल पहिलो टोली बनेको छ ।