१६ चैत्र २०८०, शुक्रबार

प्रचण्डलाई मुख्यमन्त्री राउतको चुनाैती- प्रदेश सरकार परिवर्तनको सपना नदेखे हुन्छ

cm lalbabu raut

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको सरकार परिवर्तन हुने सपना नदेख्न सुझाएका छन् । संघीयतालाई धरापमा पार्न केही नेताहरुले प्रदेश २ को सरकार ढाल्ने दाबी गरेको उनले बताए ।

मुख्यमन्त्री लालबाबु राउतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेशमा सरकार परिवर्तन गर्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रचण्डले गएको आइतबार प्रदेश २ मा सरकार परिवर्तनका लागि कुराकानी भइरहेको भन्ने अभिव्यक्तिलाई लक्षित गरी उनले यस्तो चेतावनी दिएका हुन्।

‘केही यस्ता नेता छन् जो मञ्च पिच्छे नै बोली फेर्छन्। हर समय उहाँलाई प्रदेश सरकार कसरी धरापमा पार्ने चिन्ता हुन्छ,’ मङ्गलबार जनकपुरमा महेन्द्रनारायण निधिको ९८औं जन्म जयन्ती दिवसको अवसरमा मुख्यमन्त्री राउतले भने, ‘सरकार परिवर्तनको त्यस्तो सपना कसैले नदेखे हुन्छ।’

सम्बोधनमा मुख्यमन्त्री राउतले स्वर्गीय महेन्द्रनारायण निधि लोकतन्त्रकै निधि रहेको बताए। नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेलेको भूमिका सदैव स्मरणीय रहने उल्लेख गर्दै मुख्यमन्त्री राउतले लोकतन्त्रप्रतिको आस्था, विचार र सिद्धान्तले उनलाई नामको निधि मात्र नभई लोकतन्त्रकै निधि बनाएको बताए। ‘स्वर्गीय निधिको निष्ठा, विचार, त्याग र समर्पणलाई हामी आफ्नो जीवनमा उतार्न सक्यौं भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौ, समाजिक न्याय स्थापना हुन सक्छ, उत्पीडनमा रहेको समुदायले न्याय पाउन सक्छ,’ उनले भने।

मुख्यमन्त्री राउतले स्वर्गीय निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गर्दै तत्कालीन समयमा मधेशमा भइरहेको उच्च बसाइँसराईप्रति विरोध गरेर मधेशप्रतिको भावना प्रकट गरेको बताए। कांग्रेसले संघीयता जोगाउन प्रदेश २ सरकारलाई कानुन निर्माणमा सधैँ सहयोग गरेको बताउँदै मुख्यमन्त्री राउतले अगामी दिनमासमेत सहयोगको अपेक्षा रहेको उल्लेख गरे।

कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव लगायतले स्व. निधिको योगदानको चर्चा गरेका थिए ।