१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीज्यूसँग ‘संसदमा उभिएर, आँखा जुधाएर प्रश्नको उत्तर दिने हिम्मत छ कि छैन ?’ : गगन थापा

1558572002.gagan oli 678x381 1

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गरे ।

उनले भने, ‘संख्या तपाइँसँग होला तर शासन गर्ने वैधानिक योग्यता क्षमता तपाइँले गुमाउनु भएको छ । त्यसैले सम्माननिय प्रधानमन्त्रीजी नेपाल कम्युनिष्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो नेपालको स्वास्थ्यको लागि तपाइँ स्वास्थ्य लाभ गर्न गइदिनुहोस् ।’

थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघिनै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन ? भन्दै प्रश्न गरे ।

थापाले भने, ‘संसदमा प्रधानमन्त्रीले डाँडाकाँड घुमेर होइन, तालतलैया हेरर होइन, आँखामा आँखा जुधाएर जवाफ दिनु पर्छ ।’

उनले भने, ‘संसदमा आएर, उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्री ज्यूसँग छ कि छैन् ?’, उनले अगाडि भने, ‘हिम्मत छ की छैन मलाई थाहा छैन तर संसदसँग यो हिम्मत हुनैपर्छ । ध्यानाकर्षण मात्रै होइन सभामुख महोदय संसदले यो सामर्थ्य राख्नै पर्छ । सम्मानीय प्रधानमन्त्री डाँडाकाडा डुलेर बस्ने होइन । ताल तलैया हेरेर बस्ने होइन । सदनमा आउनुपर्छ । यहाँ उभिनुपर्छ प्रश्नको सामना गर्नुपर्छ । हामी यहाँ बसेर निम्छरो होइन, सही प्रश्नहरु सोध्नेछौँ ।’’

अडियो डेढ महिना अगाडि सुनेको विषयमा प्रधानमन्त्रीले जे भनेपनि उनका आसोपासेहरुले थाहा थिएन भनेर जवाफ दिइरहेको थापाले बताए । उनले भने, ‘प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाई थाहा छैन । तर उहाँका आसेपासेहरुले केही दिनदेखि भनिरहनुभएको छ उहाँलाई थाहा थिएन । प्रधानमन्त्रीको चुलो चलाउने, प्रधानमन्त्रीको तुलोमा राख्दै गर्दा कसैले नभ्याउने अनि प्रधानमन्त्रीका भनाइका आधारमा काभ्रेले अहिलेसम्म जन्माएको सर्वाधिक प्रतिभाशाली प्रधानमन्त्रीकोे प्रवक्ताले गर्नुभएको यी कुराहरु प्रधानमन्त्रीलाई थाहा थिएन भनेर हामीले पत्याउनुपर्ने ? हामीले पत्याउने नै हो भने हाम्रो प्रधानमन्त्रीलाई प्रश्न रहन्छ । यी सबैकुरा तपाइँलाई थाहा छैन भने प्रधानमन्त्री जी तपाइँलाई के थाहा छ ? प्रधानमन्त्रीजी तपाईलाई थाहा छ नागरिकहरु के भन्दैछन् ।’

थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोरजी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना लगायतका ठेक्काका बारेमा पनि प्रश्न उठेको बताए ।

‘यो सेक्युरिटी प्रेसको ठेक्का मात्रै होइन । स्याटेलाइटको ठेक्का, फोरजी विस्तारको ठेक्का, अप्टिकल फाइबर विस्तारको ठेक्का, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, सामूदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने, स्वास्थ्य संस्था वडा इकाई विद्यालय सबै ठाउँमा फ्रि इन्टरनेट सेवा पु¥याउने यी सबै ठेक्काका बारेमा प्रधानमन्त्री ज्यूलाई सबै कुरा थाहा थियो । परिस्थिति नियन्त्रण बाहिर गएपछि अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइएको छ भनेर नागरिकले भनिरहेका छन् तपाइँलाई थाहा छ रु, थापाले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीलाई थापाले बालुवाटारमा ऐना छ कि छैन भनेर समेत प्रश्न गरे । ‘पटक पटक भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्न प्रधानमन्त्रीलाई जनताले प्रश्न गर्दैछन् भन्दै थापाले भने, ‘प्रधानमन्त्रीजी तपाईले भ्रष्टाचारीको अनुहार हेर्दिन भनेर पटक पटक दोहो¥याउनु भएको छ । तर नागरिकहरु तपाईलाई प्रश्न गर्दै छन् । बालुवाटारमा ऐना छ की छैन भनेर सोध्दैछन् ।’

नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको विषयमा र भ्रष्टाचारको विषयमा ठूलो स्वरले बोल्न नसकेपनि आफूहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताए ।

प्रधानमन्त्रीको जन्मदिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको बताए ।

थापाले प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पनि आग्रह गरे ।

थापाले भने, ‘पहिले पहिले माक्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनु भएको छ।’

प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ बताएका छन् ।

उनले प्रधानमन्त्रीको जन्मउत्सवबारे भने, ‘जन्मदिनबारे जनता के भन्दैछन्, थाहा छ? २०६०–६१ सालको राजाको झल्को मेटिएको छ। प्रधानमन्त्री ओेली वरिपरी रहेकाहरुले राजाका भारदारीको झल्को भेटाएका छन्।’

संसदमा गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा

संसदमा गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा

Posted by Nepal Ghatana on Tuesday, February 25, 2020