१६ चैत्र २०८०, शुक्रबार

आविष्कार केन्द्रद्वारा सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण

national innovation center techpana2021 06 14 07 28 50

राष्ट्रिय आविष्कार केन्द्रले सहयोग स्वरुप सरकारलाई ५० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । ग्राडियन हेल्थ सिस्टम यूएसएले प्रदान गरेको ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा सोमबार सरकारलाई दिइएको हो ।

मेरिका–नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ती भेन्टिलेटर हस्तान्तरण गरेका थिए । प्राप्त भेन्टिलेटर मन्त्रालयमार्फत् विभिन्न नौ वटा अस्पतालाई उपलब्ध गराइने बताइएको छ ।

भेन्टिलेटर बुझ्दै मन्त्री तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा बिरामीलाई बेडको अभाव हुन नदिनेगरी पूर्वाधार विकास गरिने बताए । ‘स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टिकर बनाएर कहिल्यै नमेटिने गरी राखिनेछ,’ उनले भने, ‘नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न सबैलाई म अपिल पनि गर्न चाहन्छु ।’ स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराइएका ५० थान भेन्टिलेटरको मूल्य ६ करोड रुपैयाँ बराबरको छ ।