७ बैशाख २०८१, शुक्रबार

आविष्कार केन्द्रमा इजरायली उच्च प्रविधि कक्ष

IMG 1191 scaled 1

राष्ट्रिय आविष्कार केन्द्रभित्र उच्च प्रविधि जडान भएको अनुसन्धान तथा विकास कक्ष स्थापना भएको छ । नेपालस्थित इजरायली दूतावासको सहयोगमा उक्त कक्ष स्थापना गरिएको हो ।

उक्त कक्षको बिहीबार नेपालका लागि इजरायलका राजदूत हानान गोदेर र केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । स्थापित कक्षलाई ‘रिसर्च एन्ड डेभलपमेन्ट हब’ नामकरण गरिएको छ । यो कक्षमा अनुसन्धानका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय गुणस्तरका उच्च प्रविधिहरू जडान भएका छन् ।

कक्षमा आवश्यक पर्ने कम्प्युटर, स्क्रिन बोर्ड, कुर्सी तथा उच्चस्तरीय अनुसन्धान कक्षमा उपलब्ध हुनुपर्ने सम्पूर्ण सुविधा रहनेछन् । इजरायलका स्तरीय अनुसन्धान केन्द्रमा उपलब्ध प्रविधि जडान गरिएको हुनाले दूतावासले यसलाई इजरायली शैलीको उच्च प्रविधियुक्त कक्ष भनिएको हो ।

कार्यक्रममा राजदूत गोदेरले भन्नुभयो, “म यहाँ छिर्दा बाहिरी रूपमा हेर्दा सामान्य लाग्ने केन्द्रले पत्याउनै नसक्ने काम गरिरहेको पाएँ । आगामी दिनमा पनि दूतावास केन्द्रसँग सहकार्य गर्न तयार छ । ” आधुनिक कक्ष बनेपछि केन्द्रले तय गरेको लक्ष्य हासिल गर्न सहज हुने पनि गोदेरले बताउनुभयो ।

61d79e91b14d8 Untitled 1

प्रविधियुक्त कक्ष स्थापना भएपछि अनुसन्धानमा सहज भएको केन्द्रका अध्यक्ष पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नै सबै चिज त होइन तर तत्कालका लागि अनुसन्धान गर्न सजिलो हुनेछ । ” नेपालका अनुसन्धान केन्द्रको स्तरोन्नतिका लागि विदेशी निकायबाट पनि सहयोग उपलब्ध हुनु खुशीको विषय भएको पुनले बताउनुभयो । उहाँले केन्द्रको उद्देश्यअनुसार नतिजा हासिल गर्न अझै थुप्रै काम बाँकी रहेकोे बताउनुभयो ।

यहाँ बसेर अध्ययन गर्ने विद्यार्थीले स्वदेश तथा विदेशका विश्वविद्यालय, अनुसन्धान केन्द्रलगायतका संस्था तथा वैज्ञानिकसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्न सक्ने पुनले बताउनुभयो ।

नवीनतम खोज र अनुसन्धान गरेर मुलुकमा रोजगारी सिर्जना गर्ने उद्देश्यले १० वर्षअघि केन्द्र स्थापना गरिएको हो । नेपाली प्रतिभा स्वदेशमै परिचालन गरी उनीहरूको सीप र क्षमताको अधिकतम प्रयोग गर्ने योजना केन्द्रको छ ।

नेपाली वैज्ञानिकबाटै केन्द्रले कृषि, शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षणलगायतका क्षेत्रसँग सम्बन्धित दर्जनभन्दा बढी अनुसन्धान सम्पन्न गरिसकेको छ । आफूसँग जोडिएर खोज र अनुसन्धान गर्न चाहनेलाई आर्थिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको छ ।

तर आवश्यक पर्ने उपकरण खरिद तथा अन्य कामका लागि स्रोत अभाव भएपछि केन्द्रले चन्दा सङ्कलन अभियान चलाएको थियो । अभियान अझै जारी छ । केन्द्रले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि रिकास्टसँग सहकार्य गरी कीर्तिपुरमा कार्यालय स्थापना गरेको छ ।