४ बैशाख २०८१, मंगलवार

नवलपुरमा असार ७ सम्म निषेधाज्ञा थप,बैक,सरकारी कार्यालय,खाद्य पसल र वर्कसप खुल्ने

nawalpur

नवलपुरमा असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ । नवलपुरमा सक्रिय संक्रमितको संख्या घट्दै गए पनि अझै कोरानाको कहर बाँकी रहेकोले जिल्लामा निषेधाज्ञा थप गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् । जेठ ३१ गते राति १२ बजे सकिने निषेधाज्ञालाई ७ गतेराति १२ बजेसम्मलाई पुर्याइएको प्रमुख जिल्ला अधिकारी पंगेनीले जानकारी दिइन ।

थप गरिएको निषेधाज्ञाको समयमा बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयहरु दैनिक रुपमा खुल्ने भएका छन । जारी सूचना अनुसार यहाँका बैंकहरु सार्वजनिक विदा बाहेकका अन्य दिनहरु दैनिक विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालनमा आउने भएको छ ।

त्यसैगरी जिल्ला भित्र रहेका सरकारी कार्यालय, सार्वजनिक संस्थान, गैरसरकारी संस्था न्यूनतम जनशक्तिबाट आलोपालो गरी अतिआवश्यक सेवालाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी प्रदान गर्ने भनि उल्लेख गरिएको छ ।

त्यसैगरी पुस्तक पसल, तरकारी, दुग्ध जन्य वस्तु, खाद्यान्न पसल हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ भने सर्वाजनिक सवारी साधन मर्मत गर्ने वर्कसप स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइने भएको छ ।