१६ चैत्र २०८०, शुक्रबार

दिपक मनाङेको गृह मन्त्रालयमा दावी, सम्भावना कति ?

dipak managay

विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् ।

जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।

प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दैछन् ।

नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।

‘एउटा मन्त्री बनाउने भन्ने निश्चित भएको हो,’ कांग्रेसका एक नेताले भने, ‘गृहमन्त्री उहाँको दाबी हो, कुन मन्त्रालय भन्ने चाहिँ एकिन भइसकेको छैन ।’

कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका छन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् ।

मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको छ । प्रहरीले अहिले पनि आफूलाई राम्रो नजरले नहेर्ने भएकाले गृहमन्त्री बन्न चाहेको मनाङेले निकटस्थलाई बताएका छन् । विपक्षी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ। नयाँ सरकार गठनपछि मात्र मन्त्रालयको बारेमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दाबीसहित नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीले हिजो ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरेका थिए ।

गण्डकीमा काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङे सहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न काँग्रेस संसदीय दलका नेता नेपाली प्रदेशप्रमुख समक्ष दावी पेश गरेका हुन् ।