१५ बैशाख २०८१, शनिबार

महाधिवेशनका सन्दर्भमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

congress meetig p cwzVfb1WfJ 750x375 1

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दिउँसो २ बजे बैठक बस्न लागेको छ ।

देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुनेछ । यी दुवै प्रतिकूलताका बीच आगामी भदौभित्र संविधानतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा काँग्रेस रहेको छ । वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गरेर काँग्रेसमा तयारी छ । असार ५ बाट वडा अधिवेशन गर्ने भनिएपनि क्रियाशील सदस्यताकै टुंगो नलागेपछि साउन २ बाट वडा अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी छ । सोही अनुसार माथिल्लो अधिवेशन कार्यतालिका पनि संशोधन हुने छ ।

काँग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको भएपनि अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन । नियमित प्रक्रियाअनुसार १६ महिनाअघि नै १४ औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा विशेष परिस्थिति देखाउँदै एक वर्ष थप गरिएको थियो । त्यो समयमा पनि महाधिवेशन हुन नसकेर संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।

२०७२ फागुन १९ गते १३ औँ महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौ १९ गते उता १४ औं महाधिवेशन गर्ने सुविधा छैन । काँग्रेस सभापति देउवाले पनि भदौमा महाधिवेशन हुने र आफू पूर्ण प्रतिबद्ध भएको बताइसकेका छन् । महाधिवेशनको कार्यतालिका संशोधन गरी भए पनि महाधिवेशन गर्ने देउवाको तयारी छ ।